काठमाडौं। आव २०८३/८४ को पहिलो महिनामा गैरकर राजस्वमा उल्लेख्य वृद्धि देखिएको छ। साउनमा ७ अर्ब ३ करोड रुपैयाँ गैरकर राजस्व उठेको छ। पोहोर साउनमा ३ अर्ब ७९ करोड रुपैयाँ गैरकर राजस्व उठेको थियो।
सरकारी सेवा प्रयोग गरेर संकलन गर्ने आन्तरिक आम्दानी गैरकरमा गणना हुन्छ। दस्तुर, महसुल, जरिबानालगायत शीर्षकमा सरकारले गैरकर उठाउने गरेको छ।
साउनमा कर राजस्व भने जम्मा ५.६ प्रतिशतले बढेर ८५ अर्ब १९ करोड ६ लाख रुपैयाँ संकलन भएको छ। गत आवको पहिलो महिनामा ८० अर्ब ६७ करोड रुपैयाँ कर राजस्व उठेको थियो।
साउनमा कुल ९२ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन भएको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार यो वार्षिक लक्ष्यको ५.८४ प्रतिशत हो। गत वर्ष साउनमा वार्षिक लक्ष्यको ५.७१ प्रतिशत अर्थात् ८४ अर्ब ४६ करोड राजस्व संकलन भएको थियो।
सरकारले चालु आवमा १५ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। गत आर्थिक वर्ष १२ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो।