BIZMANDU
www.bizmandu.com

विद्युत उत्पादन राष्ट्रिय प्रणालीमा जडित क्षमता ४१२० पुग्यो, कस्तो छ प्रसारण र वितरणको अवस्था?

२०८३ भदौ १

विद्युत उत्पादन राष्ट्रिय प्रणालीमा जडित क्षमता ४१२० पुग्यो, कस्तो छ प्रसारण र वितरणको अवस्था?
विद्युत उत्पादन राष्ट्रिय प्रणालीमा जडित क्षमता ४१२० पुग्यो, कस्तो छ प्रसारण र वितरणको अवस्था?


काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल जडित विद्युत उत्पादन क्षमता ४ हजार १२० मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार सो आर्थिक वर्षमा मात्र ५२९ मेगावाट विद्युत उत्पादन राष्ट्रिय प्रणालीमा थप भएको हो।

Tata
GBIME

२०८३ असार १४ गते राष्ट्रको उच्चतम विद्युत माग २ हजार ४७९ मेगावाट रहेको प्राधिकरणले जनाएको छ। असार २२ गते प्रणालीको उच्चतम विद्युत माग ३ हजार २२६ मेगावाट पुगेको छ। यस अवधिमा आन्तरिक विद्युत खपत ९.२७ प्रतिशतले वृद्धि भएको छ।

पूर्वाधार विस्तारको वर्तमान अवस्था

आर्थिक वर्ष २०८२/८३ मा १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन गरेको छ। ४० मेगावाटको राहुघाट जलविद्युत सुरु आयोजनाको निर्माण सम्पन्न भएर उत्पादन परिक्षण भइरहेको छ।

यस्तै, प्रसारणतर्फ कोहलपुर-सुर्खेत प्रसारण लाइनको निर्माण सम्पन्न भएर कर्णाली प्रदेश पहिलोपटक १३२ केभी प्रसारण संजालसँग जोडिएको छ‍। खिम्ती-बाह्रबिसे ४०० केभी प्रसारण लाइन संचालनमा आएर तामाकोशी तथा सुनकोशी नदी बेसिनमा उत्पादित विद्युत प्रसारण क्षमता थप सुदृढ भएको प्राधिकरणले उल्लेख गरेको छ।

त्यसैगरी, मार्किचोक भरतपुर २२० के.भी. प्रसारण लाइन संचालनमा आएपछि मर्स्याङ्दी नदी बेसिनका विद्युत आयोजनाबाट उत्पादित विद्युत प्रसारण गर्न सहज भएको छ। हेटौँडा- ढल्केबर ४०० के.भी. प्रसारण लाइन निर्माणमा उत्पन्न समस्या समाधान भई निकट समयभित्र सम्पन्न हुने गरी कार्य अगाडि बढाइएको छ।

तम्घास- बुर्तिबाङ, ढल्केबर-बालगंगा, लालबन्दी – सलिमपुर तथा कालीगण्डकी-रिडी १३२ केभी प्रसारण लाइन र मूलपानी तथा फुटुङ १३२/११ केभी सबस्टेसनको निर्माण सम्पन्न भएको छ।

लमजुङको खुदी २२० केभी सबस्टेसन निर्माण सम्पन्न भएर १३२ केभीमा चार्ज गरिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म उच्च भोल्टेज प्रसारण लाइनको कुल लम्बाइ ७ हजार ११० सर्किट किमि र प्रसारण सबस्टेसनको क्षमता १५ हजार ५४१ एमभीए पुगेको छ।

सो आर्थिक वर्षमा मात्रै सबस्टेसनको क्षमता १ हजार ४१८ एमभीए थप भएको छ। साथै १ हजार ६५० सर्किट किलोमिटर प्रसारण लाइन तथा ६ हजार २६१ एमभीए क्षमताका ग्रिड सबस्टेसन निर्माणाधीन अवस्थामा छन्।

स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँग आबद्ध गर्ने गरी ३९ वटा विद्यमान र १५ वटा नयाँ ग्रिड सबस्टेसनमा स्वचालन प्रणाली जडान गर्ने कार्य चालू आर्थिक वर्ष सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।उत्पादित बिजुलीलाई ग्राहकसम्म लैजानको लागि प्रसारण र वितरण प्रणाली पनि उतिकै बलियो हुन आवश्यक रहेको विज्ञहरुको जोड छ।

यस्तै, वितरणतर्फ ३३/११ केभीका २२१ वटा सबस्टेसन जडान गरिएका छन्। जसको कुल ट्रान्सफर्मर क्षमता ३ हजार ०४८ एमभीए रहेको छ। ३३ केभीका ८ हजार ३३८ सर्किट किलोमिटर, ११ केभीका ५४ हजार २९६ सर्किट किलोमिटर तथा ४००/२३० भोल्टेजका १ लाख ६३ हजार ४९० सर्किट किलोमिटर वितरण लाइन निर्माण भएका छन्।

त्यस्तै, कुल ५ हजार ४५४ एमभीएका ५५ हजार ९४८ वटा वितरण ट्रान्सफर्मर जडान गरिएका छन्।

ग्राहक संख्या कति थपिए?

आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणका विद्युत ग्राहकको संख्या ५९ लाख २७ हजार पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा ३.८५ प्रतिशतले वृद्धि हो। जुन कुल ग्राहक संख्यामध्ये घरेलु ग्राहकको हिस्सा ९०.६४ प्रतिशत, औद्योगिक ग्राहकको हिस्सा १.२० प्रतिशत तथा अन्य ग्राहकहरूको हिस्सा ८.१६ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८२/८३ मा कुल १८ हजार ६२४ गिगावाट घण्टा विद्युत ऊर्जा उपलब्ध भएकोमा प्राधिकरण तथा यसका सहायक कम्पनीहरूको योगदान ३६ प्रतिशत, स्वतन्त्र विद्युत उत्पादकहरूको योगदान ५८ प्रतिशत र भारतबाट आयात गरिएको विद्युतको योगदान ६ प्रतिशत रहेको छ।

आन्तरिक विद्युत खपत १२ हजार ३७६ गिगावाट घण्टा पुगेको छ‍। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९ प्रतिशतले बढेको प्राधिकरणले जनाएको छ। सोमध्ये घरेलु ग्राहकको हिस्सा ४२ प्रतिशत र उद्योगको हिस्सा ३६ प्रतिशत रहेको छ।

चुहावाट घट्यो

प्राधिकरणले चुहावट पनि घटाउन सफल भएको छ। चुहावट नियन्त्रणका प्रभावकारी कार्यक्रम र प्रणालीगत सुधारबाट विद्युत चुहावट अघिल्लो आर्थिक वर्षको १२.२६ प्रतिशतबाट घटेर १२.१६ प्रतिशतमा कायम गर्न सकिएको प्राधिकरणले जनाएको छ।

केन्द्रीय प्रसारण लाइन नपुगेका देशका विभिन्न क्षेत्रमा प्रसारण तथा वितरण लाइन विस्तारको कार्य जारी रहेको प्राधिकरणले जनाएको छ। काठमाडौं, ललितपुर, भक्तपुर, भरतपुर तथा पोखरामा क्षमता, सुरक्षा तथा सहरी सौन्दर्य सुधार गर्ने उद्देश्यले भूमिगत वितरण प्रणाली निर्माण भइरहेको छ।

मधेश प्रदेशमा वितरण संजाल सुदृढीकरणको कार्य समेत अघि बढिरहेको छ। बागमती तथा लुम्बिनी प्रदेशमा विद्युत आपूर्ति अवरुद्ध नगरी लाइन मर्मत सम्भार (लाइभ लाइन मेन्टिनेन्स) गर्न सकिने प्रविधिको प्रारम्भ गरिएको र त्यसले सो क्षेत्रको नियमित आपूर्ति र विश्वसनीयतामा अभिवृद्धि हुने प्राधिकरणले उल्लेख गरेको छ।