BIZMANDU
www.bizmandu.com

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : चन्द्रप्रसाद ढकाल

२०८३ भदौ १

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : चन्द्रप्रसाद ढकाल
रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : चन्द्रप्रसाद ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका रिटर्नी उद्यमीहरूको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणको मुख्य आधार बनाउनुपर्ने बताएका छन्।

Tata
GBIME

नेपाल–कोरिया उद्यमी व्यवसायी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध कूटनीतिक र सांस्कृतिकसँगै आर्थिक र व्यावसायिक साझेदारीको जीवन्त उदाहरण भएको बताएका हुन्।

हजारौं नेपाली युवाले कोरियामा काम गरी हासिल गरेको सीप, अनुभव र पुँजी नेपालको उद्यमशीलता विकासका लागि बहुमूल्य सम्पत्ति रहेको उनले बताएका थिए।

कोरियाले ६० वर्षअघि गरिबीबाट औद्योगिक शक्तिमा फड्को मार्दा अपनाएको अनुशासित कार्यसंस्कृति, गुणस्तरमा जोड, प्रविधिको विकास, निर्यातमुखी उत्पादन र सरकार–निजी क्षेत्रबीचको समन्वय जस्ता पाठ नेपालमा पनि लागू हुन सक्ने उनले बताएका थिए।

रिटर्नी उद्यमीहरूले सिकेको अनुशासन र उत्पादकत्वमा आधारित कार्यसंस्कृति स्वदेशी उद्योगमा लागू गर्न सकेमा नेपालको औद्योगिक चरित्र नै परिवर्तन हुन सक्ने उनको भनाइ थियो।

जलविद्युत, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि लगायत साना–मझौला उत्पादनमूलक क्षेत्रमा नेपालमा प्रशस्त लगानी सम्भावना रहेको बताउँदै ढकालले भारत–चीनसँगको भौगोलिक निकटता र सुध्रिँदै गएको लगानी वातावरणले नेपाललाई क्षेत्रीय उत्पादन आधारका रूपमा स्थापित हुने अवसर दिएको उल्लेख गरेका थिए। साथै, लगानीमैत्री नीति र एकद्वार सेवाका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको र यो अभियान थप तीव्र पारिनुपर्नेमा उनको जोड थियो।

देशभर छरिएर रहेको साना पुँजीलाई एकीकृत गरी ठूला आयोजनामा लगानी गर्न १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको जानकारी उनले त्यस अवसरमा दिएका थिए। नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नीहरूका लागि उक्त कम्पनीले लगानी साझेदार बन्ने र सानो पुँजी भएकाहरूका लागि नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत पनि लगानी गर्न सकिने उनको भनाइ थियो।

‘रिटर्नी उद्यमी–व्यवसायीसँग रहेको प्रविधिक सीप, कार्यसंस्कृति र आर्थिक अनुशासन नेपालको उद्योग क्षेत्रलाई सबैभन्दा बढी आवश्यक रहेको छ। स्वदेशमा उद्यम स्थापनाका क्रममा देखिने कानुनी तथा प्रक्रियागत अवरोध सरकार, निजी क्षेत्र र सरोकारवालाबीचको नियमित संवादबाट हटाउन सकिनेछ,’ उनले भने।

त्यस्तै, उनले रिटर्नी उद्यमीहरूको लगानी र सीपले स्वदेशमा उत्पादन, रोजगारी र समृद्धिको नयाँ अध्याय लेख्ने कामना गर्दै एफएनसीसीआई र आइएमई ग्रुपका तर्फबाट सधैं साथ रहने प्रतिबद्धता पनि जनाएका थिए।

कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत, दूतावासका कर्मचारीहरू, नेपाल सरकारका प्रतिनिधि, रिटर्नी माइग्रेन्टलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।