BIZMANDU
www.bizmandu.com

ओलीले आफ्नै विश्वास पात्रप्रति गरे ‘तुच्छ’ टिप्पणी, कसलाई भने ‘आवारा’?

२०८३ भदौ १

ओलीले आफ्नै विश्वास पात्रप्रति गरे ‘तुच्छ’ टिप्पणी, कसलाई भने ‘आवारा’?
ओलीले आफ्नै विश्वास पात्रप्रति गरे ‘तुच्छ’ टिप्पणी, कसलाई भने ‘आवारा’?


काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउन खोज्नेहरूलाई ‘आवारा’ र ‘उरन्ठेउला’ भन्दै शनिबार तुच्छ टिप्पणी गरे।

Tata
GBIME

‘पार्टीमा अहिले अनुशासनहीनता र अराजकता बढेको छ। पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू अध्यक्ष हटाउने कुरा गर्छन्,’ शनिबार इलाममा आयोजित कार्यक्रममा ओलीको आक्रोश थियो, ‘अध्यक्ष हटाउने कुरा ठट्टा हो? पार्टी सदस्य छ कि छैन? उरन्ठेउलाहरू भेला भएका छन्। चिया खाएको छ, अध्यक्ष हटाउने हो, कहिले हटाउने हो, छिटो हटाउन भनेका छन्।’

निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमार्फत विशेष महाधिवेशनको आयोजना गरेर ओलीलाई हटाउन सकिनेगरी प्रतिवेदन तयार पारेका बेला ओलीले छुद्र टिप्पणी गर्ने क्रम बढ्दै गएको एमाले नेताहरु नै बताउँछन्।

११ औं महाधिवेशनका बेलामा ओलीको पक्षबाट महाधिवेशन जितेका महासचिव शंकर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्त लगायतका नेताहरू पनि इतर पक्षमा उभिएपछि ओली झनै आक्रोशित छन्। ओलीकै विश्वास पात्रहरूसमेत अहिले ओलीसँग छैनन्।

ओलीले कसलाई भने ‘आवारा’?

ओलीले कार्यदलको प्रतिवेदनमा आफूलाई हटाउनेबारे छलफल गर्ने नेताहरूलाई लक्षित गरेर पछिल्लो समय ‘तुच्छ’ टिप्पणी गर्ने गरेका छन्। पछिल्लो समय ओली आफ्नै विश्वास पात्रहरूसँग समेत आक्रोशित छन्। पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यले ओलीले कसलाई आवारा भनेका हुन् भन्नेबारे अनविज्ञता प्रकट गरे।

‘हामीले पनि भिडियोमा हेर्‍यौँ। कसलाई भन्नुभएको हो त्यो ठ्याक्कै थाहा भएन। हामी बुझ्दै छौं,’ उनले भने।

ओली निकट एक सचिवालय सदस्यका अनुसार ओली पछिल्लो समय आफू इतर पक्षका नेताहरूभन्दा पनि आफ्ना विश्वासपात्रहरूसँगै सबैभन्दा धेरै आक्रोशित छन्। आफूलाई अप्ठेरो परेका बेला पनि साथ नदिएकोप्रति ओलीले सार्वजनिक रुपमा नाम नलिएरै टिप्पणी गरिरहेका हुन्।

‘उहाँले इलाम पुगेर क-कसलाई के भन्नुभयो। किन यस्तो टिप्पणी गर्नुभयो। अहिलेलाई संकेत मात्रै बुझ्ने हो। उहाँसँग बसेर छलफल गरेपछि थाहा हुन्छ। तर, उहाँको पछिल्लो आक्रोश नै हामी जो-जो उहाँसँग नजिक छौं हामीसँग पनि हो। उहाँ त अहिले आफू प्रधानमन्त्री रहेकाबेला मुख्य सल्लाहकार रहेका विष्णु रिमालसँग पनि खुसी हुनुहुन्न। पछिल्ला टिप्पणीहरू उहाँ लक्षित पनि छन्,’ उनले भने।

रिमालले ओलीलाई लगातार काँध हाल्दै आएका छन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हुनुअघिसम्म पनि ओलीको सचिवालयका मुख्य पात्र नै रिमाल हुने गरेका थिए। ओली प्रधानमन्त्री रहेका बेला ‘सत्ता’ चलाउने मुख्य व्यक्ति थिए रिमाल। सबै कुरामा उनैको खटनपटन हुने गरेको भन्दै एमालेभित्रै नेताहरूले आलोचना गर्ने गरेका थिए।

११ औं महाधिवेशनमा ओली प्यानलबाटै उप-महासचिवको उम्मेदवार बनेका रिमाल पराजित भएका थिए।

विष्णु रिमाल

रिमालले समेत आफूलाई अध्यक्षबाट हटाउन पोखरेलसँग मिलेको बुझाइ अहिले ओलीको छ।

‘अहिले अध्यक्षज्यूले आफूलाई हटाउन लागेको भन्ने भएपछि त्यसलाई त्यति मन पराउनुहुन्न। स्वभाविक हो अध्यक्षबाट हटाउन लागेको भन्ने भएपछि त्यो नेताप्रति आक्रोश व्यक्त हुनु,’ हाल इलाम-झापा लगायताका ठाउँमा ओलीसँगै रहेका एक नेताले भने।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएपछि इतर पक्ष कमजोर हुने बुझाइमा रहेका ओली पछिल्लो समय भण्डारी पक्षसँग भन्दा पनि आफूसँगै रहेका नेताहरूले धमाधम महासचिव पोखरेलको समूहमा लागेर आफूलाई अप्ठेरो पारिरहेको भन्दै आक्रोशित बनेका हुन्।

ओलीले पोखरेलदेखि रिमालसम्मलाई कारबाही गर्ने चेतावनी सार्वजनिक रुपमा दिइरहेका छन्। पार्टी अनुशासनको डण्डा चलाउने संकेत ओलीले गरिरहेका हुन्।

ओली सचिवालयमा अल्पमतमा छन् भने उनले पछिल्लो समय केन्द्रीय कमिटीको बैठक समेत बोलाउन सकेका छैनन्। पार्टीभित्र आफू अल्पमतमा पर्नसक्ने डरका कारण ओलीले पार्टीका कमिटी बैठकहरूसमेत बोलाउन छोडेका छन्।

आफ्नो पक्षमा कार्यदलको प्रतिवेदन नबनेपछि कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा बादलमार्फत प्रतिवेदनलाई ओलीले गुपचुप राखेका छन्। संशोधनका लागि ओलीले दबाब दिएको कार्यदल सदस्यहरू बताउँछन्। प्रतिवेदन महासचिव शंकर पोखरेलले तयार पारेका हुन्।

प्रतिवेदनलाई अन्तिम टुंगो नलगाउँदै बादलले ओलीकहाँ पुर्‍याएका थिए। संशोधन बिना प्रतिवेदन सचिवालय बैठकमा प्रस्तुत नगरिने अडान ओलीले लिएका छन्।

कार्यदलमा आफू अनुकूल प्रतिवेदन बन्ने भन्दै ओलीले बादलसहितका विश्वास पात्रहरूलाई जिम्मा लगाएका थिए। तर, बादल बाहेकका नेताहरू ओलीको पक्षमा नलागेपछि ओली आफ्नै विश्वासपात्रलाई समेत कारबाही गर्ने चेतावनी दिइरहेका छन्। आफ्नै विश्वासपात्र टाढिन थालेपछि ओली भने एमालेमा एक्लिन थालेका छन्।

यी विश्वासपात्रप्रति ओली आक्रोशित

११ औं महाधिवेशनमा ओलीसँग अध्यक्षमा पराजित भएका नेता ईश्वर पोखरेल कुनै बेला ओ‌लीको सबैभन्दा ठूला विश्वास पात्र थिए। उनकै कारण ओलीले ९ औं महाधिवेशनमा जित निकाले।

नेकपा विवादका बेला अरु शीर्ष नेताहरूले ओलीको चर्को आलोचना गर्दा पनि पोखरेल बचाउमा लागे भने एमाले विभाजनमा पनि ओलीलाई नै काँध हाले। तर, ११ औं महाधिवेशन भन्दा अघि पोखरेलले ओलीलाई नेतृत्व छोड्न भनेपछि ओलीले पोखरेललाई नै एमालेको किनारमा धकेलिदिए।

ओलीका विश्वास पात्र बनेर हाल ओलीको तुच्छ टिप्पणीको निशानामा परिरहेका अर्का नेता हुन्- उपाध्यक्ष विष्णु पौडेल। पौडेलले ओलीलाई ११औं महाधिवेशनमा समेत साथ दिए। सरकारमा रहेका बेला पनि पौडेल विरलै ओलीको टिम बाहिर रहे। तर, पौडेल नै अहिले ओलीसँग छैनन्।

पृथ्वीसुब्बा गुरुङले पनि ओलीलाई ११ औं महाधिवेशनमा साथ दिएर गल्ती गरेको भन्दै पश्चाताप गर्न थालेका छन्। उनीले ओलीसँग वारपारको अवस्थामा जानुपर्ने धारणा राखेपछि ओलीले गुरुङलाई पनि ‘उरन्ठेउला’ भनिरहेका छन्।

ओलीले अर्का उपाध्यक्ष रघुजी पन्तलाई पनि पार्टीमा अराजकता निम्ताइरहेको आरोप लगाइरहेका छन्। महासचिव शंकर पोखेरललाई पार्टी संगठनलाई अनुशासित बनाउन नसकेको तथा आफू अप्ठेरोमा परेका बेलामा छुट्टै गुट चलाएको भन्दै उनका विरुद्ध पनि ओलीले आक्रोश व्यक्त गरिरहेका छन्।

चुनावअघिसम्म पनि ओलीको विश्वास पात्र बनेर काम गरिरहेका उपमहासचिव रघुवीर महासेठ र सचिव राजन भट्टराईप्रति पनि ओलीले तुच्छ टिप्पणी गरिरहेका छन्।

सचिव हिक्मत कार्की अहिले महासचिव पोखरेल निकट छन् भने ओलीले उनलाई पनि पार्टीको अनुशासनको कारबाही हुने चेतावनी दिइरहेका छन्।

गोकुल बास्कोटा सञ्चारमन्त्री रहेका बेलामा ओलीका विश्वास पात्रको रुपमा रहेकोमा १०औं महाधिवेशनदेखि नै ओलीसँग छैनन्। उनलाई ओलीले चुनावमा टिकट समेत दिएनन्।

कुनै बेला ओलीको विश्वास पात्रको रुपमा एमाले पूर्वी नेपालमा माहोल बनाउने विनोद ढकाल हाल ओलीसँग छैनन्। विद्या भण्डारीलाई नेतृत्वमा ल्याउनुपर्ने समूहमा सामेल भएपछि ओलीले ढकाललाई पनि निशाना बनाइरहेका छन्।