काठमाडौं। खाना पकाउने एलपी ग्यास अब नियमित प्रक्रियाबाटै बिक्री हुने भएको छ। भदौ १ गतेबाट ग्यास उद्योगले नियुक्त गरेका विक्रेताहरूबाटै विक्री हुने निगमले जनाएको छ।
उपभोक्ताको सहजताका लागि भन्दै निगमले विभिन्न स्थानहरूबाट आफ्नै सक्रियतामा बिक्री सुरु गरेको थियो। उद्योगीहरूले भने निगमको उक्त कार्यले झनै समस्या बढाएको बताएका थिए।
निगमले सूचना जारी गर्दै भदौ १ गतेबाट नियमित प्रक्रियाबाटै बिक्री हुने जनाएको हो। सूचना अनुसार उद्योगहरूले दैनिक विक्री गर्ने विक्रेता/वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिन्डर संख्यासहितको विवरण निगममा प्रत्येक दिन बिहान ९ बजेभित्र उपलब्ध गराउनु पर्नेछ।
विक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम, सम्पर्क नम्बरसहितको विवरण दैनिक तयार पारी अनिवार्य रूपमा सम्बन्धित उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने र उद्योगले निगमलाई विवरण सोही दिन उपलब्ध गराउनुपर्ने पनि सूचनामा उल्लेख छ।
अत्यावश्यक घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्ताहरूलाई उच्च प्राथमिकतामा दिन पनि निगमले आग्रह गरेको छ। ग्यास ढुवानी र वितरण कार्यमा सुरक्षाको दृष्टिबाट सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निगमले गृह मन्त्रालयमार्फत अनुरोध समेत गरेको छ। बिक्रीको अनुगमनका लागि निगमले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई आग्रह गरेको सूचनामा जनाइएको छ।