BIZMANDU
www.bizmandu.com

नेपालमै बन्दैछ सिसाको बोतल, स्वदेशी कच्चा पदार्थबाट फागुनदेखि व्यावसायिक उत्पादन सुरु हुने

२०८३ साउन ३१

नेपालमै बन्दैछ सिसाको बोतल, स्वदेशी कच्चा पदार्थबाट फागुनदेखि व्यावसायिक उत्पादन सुरु हुने
नेपालमै बन्दैछ सिसाको बोतल, स्वदेशी कच्चा पदार्थबाट फागुनदेखि व्यावसायिक उत्पादन सुरु हुने


ऊर्जा उद्यमी वीरेन्द्र न्यौपानेले उत्पादनमूलक उद्योगमा प्रवेश गर्दै नेपालकै सिसाखानीबाट संकलित कच्चापदार्थबाट नेपालमा पहिलो पटक बोतल उत्पादन गर्ने भएका छन्। कुल ७५ मेगावाट विद्युत् उत्पादन हुने भिन्न-भिन्न ६ वटा योजना निर्माण गरिसकेका हाइड्रो उद्योगी न्यौपाने सप्तरीको पदमनगरमा निजी औद्योगिकग्राममा यो उद्योग स्थापना गर्ने भएका हुन्।

Tata
GBIME

न्यौपाने ९७, ४०, १६६ र ६३ मेगावाट क्षमताका जलविद्युत् आयोजनाका प्रवर्धक हुन्। विराटनगरमा रहेको बिग होटलमा पनि उनी साझेदार छन्।

उनले सप्तरीको सुरुंगा नगरपालिका वडा नम्बर ३ मा पर्ने पदमनगरमा ४५ बिघा क्षेत्रफलको जमिनमा आफ्ना पिता पदमबहादुरका नाममा ‘पदमनगर औद्योगिक ग्राम’ नामको निजी औद्योगिक क्षेत्र स्थापना गरेका छन्।

यही औद्योगिक क्षेत्रमा उनले नेपालकै खानीबाट उत्खनन् गरिएको कच्चापदार्थ प्रयोग गरेर सिसाका बोतल उत्पादन गर्ने भएका हुन्। न्यौपानेले बिग इन्डस पदमनगर नामको बोतल उद्योगमा २५० करोडको लगानी हुने जानकारी दिए।

वीरेन्द्रका अनुसार उनले सप्तरीको एक पालिका र उदयपुरको लाफागाउँ गरी २ ठाउँमा सिसाको कच्चापदार्थको खानी लिएका छन्। सप्तरीको खानीबारे उनी खुल्न चाहेनन्।

‘नेपालकै खानीबाट तयारी बोतल उत्पादन गर्ने यो पहिलो उद्योग हुनेछ। यसका लागि विश्वप्रसिद्ध स्यान्जिन ग्लास मेसिनरी कम्पनीबाट मेसिन आयात भइरहेको छ। औद्योगिक ग्राममा पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ,’ उनले सुनाए।

उनले उद्योगको क्षमता वार्षिक ९ करोड थान (६ लाख २५ हजार ग्रस) सिसाका बोतल उत्पादन गर्ने रहेको बताए। उद्योगले सबै प्रकारका, सबै साइज र क्वालिटीका बोतल उत्पादन गर्नसक्ने उनको भनाइ छ।

‘हाम्रो उत्पादनको मुख्य आपूर्ति बियर र मदिराका उद्योगमा हुनेछ। यसबाहेक जुन साइज, गुणस्तर र मोडलका बोतल मागे पनि हामी दिनसक्छौँ,’ उनले सुनाए।

न्यौपानेले बिग इन्डसबाट उत्पादित बोतल आयातितभन्दा सस्तो पर्ने जिकिर गरे।

उनले भने, ‘आयातितभन्दा कम्तीमा १० प्रतिशत सस्तो मूल्यमा हामी बोतल आपूर्ति गर्न सक्नेछौँ। यही हिसाबले लागतको व्यवस्थापन भइरहेको छ।’

आगामी माघदेखि परीक्षण उत्पादन गरेर फागुनदेखि नै व्यावसायिक उत्पादनमा जाने उनको लक्ष्य छ। कुल २५० कामदार आवश्यक पर्ने उद्योगले ३ मेगावाट विद्युत् खपत गर्ने उनले जानकारी दिए।

भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा गत आर्थिक वर्षमा ५ अर्ब ७४ करोड ८ लाख मूल्यको ४९ करोड ६५ लाख ५८ हजार ९४४ गोटा (३४ लाख ४८ हजार ३२६ ग्रस) बोतल आयात गरिएको छ।

बोतलको आयात ग्रसमा गरिन्छ। एक ग्रसमा १२ दर्जन अर्थात् १४४ थान हुन्छ। जसमध्ये सबैभन्दा बढी भारतबाट ५ अर्ब ४८ करोड ७५ लाख र दोस्रोमा चीनबाट १९ करोड ५२ लाख मूल्यका सिसाका खाली बोतल आयात गरिएको छ।

न्यौपानेले सोही औद्योगिक क्षेत्रमा २०८३ सालभित्रै पेन्ट्स, फलामे ड्रम र लाइट डिजल आयल गरी ३ वटा छुट्टाछुट्टै उद्योग संचालन गर्ने गरी काम भइरहेको जानकारी दिए।

‘हामी उक्त औद्योगिक क्षेत्रमा लाइट डिजल आयल (एलडीओ) बनाउने छौँ। यो औद्योगिक मिल मेसिनरीको प्रयोजनमा काम लाग्छ। यसले फर्नेस आयलको काम गर्छ। हामी यस क्षेत्रमा टायर आयललाई डिस्टिलेसन र फिल्टरेसन गरेर एलडीओ बनाउने छौँ,’ उनले बताए।

त्यस्तै, यही औद्योगिक क्षेत्रभित्र चालु वर्षदेखि नै आफैँले उत्पादन गरेको ड्रममा आफैँले प्रशोधन गरेको बिटुमिन प्याकिङ गर्ने गरी काम भइरहेको छ। यसका साथ पेन्ट्स उद्योग पनि यही वर्ष संचालनमा आउने उनको भनाइ छ।

न्यौपानेले यही स्थानमा २ वर्षभित्र नेपालकै फलाम खानीबाट उत्खनन् गरिएको कच्चापदार्थ प्रयोग गरेर दैनिक ३ सय टन इनगटको उत्पादन गर्ने बताए। इनगटबाट नै फलामका टीएमटी, एंगल, च्यानल, स्क्वायर पाइप आदि वस्तु उत्पादन गरिन्छ। फलाम उद्योगका लागि उनले उदयपुरमा खानी लिएका छन्।