काठमाडौं। भदौ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मास्टर्नी’को प्रचारप्रसार तीव्र पारिएको छ।
प्रचारका लागि फिल्म टोलीसहित अभिनेत्री प्रियांका कार्की र निर्माता आयुष्मान जोशी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’मा पुगेका छन्।
प्रियांका फिल्मको टिसर्ट लगाएरै एक्स्पो पुगेकी थिइन्। उनले एक्स्पोमा उपस्थित दर्शकसँग फिल्मबारे कुराकानीसमेत गरिन्।
‘मास्टर्नी’मा प्रियांका आमाको भूमिकामा देखिँदैछिन्। सिम्रन खड्का उनकी छोरीको भूमिकामा छिन्।
फिल्मले आमा र छोरीको सम्बन्धलाई केन्द्रमा राखेको छ। फिल्ममा आर्यन सिग्देल, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ल, ऋचा शर्मा, रक्षा थापा, सन्दीप क्षेत्री, दीपकराज गिरी र जितु नेपाल लगायत कलाकारको अभिनय छ।

आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रियांका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की हुन्। संवाद लेखनमा प्रियांका र शानले सहकार्य गरेका छन्।
काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ। साउन २६ गतेबाट सुरु भएको एक्स्पोमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ।
शनिबार मात्रै ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए। पाँच दिनमा अवलोकनकर्ताको संख्या डेढ लाख नाघेको आयोजकले जनाएको छ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले छ दिनमा डेढ लाख दर्शक भित्र्याउने लक्ष्य राखेको थियो। लक्ष्यअनुसार एक्स्पोमा उत्साहजनक सहभागिता देखिएको छ।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। विभिन्न कम्पनीले नयाँ मोडलसमेत सार्वजनिक गरेका छन्। नयाँ प्रविधि र सवारीसाधनबारे जानकारी लिन ठूलो संख्यामा दर्शक एक्स्पो पुगेका छन्।
यही भीड र उत्साहबीच ‘मास्टर्नी’को प्रचारले पनि एक्स्पोमा नयाँ आकर्षण थपेको थियो। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा कलाकार र निर्माण टिम प्रचारमा सक्रिय छन्।