BIZMANDU
www.bizmandu.com

५-१० वर्षको अवधिमै ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ जान्छौँ : सौरभ ज्योती

२०८३ साउन ३१

५-१० वर्षको अवधिमै ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ जान्छौँ : सौरभ ज्योती
५-१० वर्षको अवधिमै ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ जान्छौँ : सौरभ ज्योती


काठमाडौं। उद्यमी तथा नाइमाका संस्थापक सौरभ ज्योतीले नेपालमा औद्योगिकीकरणलाई गति दिन सके आगामी ५ देखि १० वर्षमा अटोमोबाइल क्षेत्रलाई ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ लैजान सकिने बताएका छन्।

Tata
GBIME

नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा आयोजित संवादमा ज्योतीले यस्तो बताएका हुन्।

‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउने : प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयक संवादमा उनले नेपालमा उद्योग विस्तारको सम्भावना ठूलो रहेको बताए।

उनका अनुसार नेपालमा अटोमोबाइल एसेम्ब्ली उद्योग विस्तार हुँदै गएको छ। अब यसको अर्को चरणमा जानुपर्ने समय आएको भन्दै उनले त्यसका लागि पार्ट्स र कम्पोनेन्टको स्थानीय उत्पादन बढाउन आवश्यक रहेको बताए।

विदेशबाट पार्ट्स ल्याएर नेपालमा सवारी साधन एसेम्बल गर्नु औद्योगिकीकरणको सुरुवाती चरण भएको उनले बताए। त्यसपछि क्रमशः पार्ट्सको उत्पादन नेपालमै गर्न सकिने उनको भनाइ छ।

नेपालमा पछिल्ला वर्षमा एक दर्जनभन्दा बढी एसेम्ब्ली उद्योग स्थापना भइसकेका छन्। चारपांग्रे सवारीतर्फ हुन्डाईको एसेम्ब्ली उद्योग सञ्चालनमा छ। दुईपांग्रे सवारीतर्फ पनि प्रमुख ब्रान्डका मोटरसाइकल र स्कुटर नेपालमै एसेम्बल भइरहेका छन्।

तर, एसेम्ब्ली उद्योग मात्रै स्थापना गरेर औद्योगिकीकरण पूरा नहुने ज्योतीले बताए। स्थानीय उद्योग र आपूर्ति शृंखला बलियो बनाउनुपर्ने उनको भनाइ छ।

नेपालमै उत्पादन हुने पार्ट्सको हिस्सा बढाउन सके उद्योगको आधार अझ बलियो हुने उनले बताए। यसका लागि सरकारले स्पष्ट समयसीमा तोकेर नीति अघि बढाउनुपर्ने उनले बताए।

औद्योगिक नीतिमा निरन्तरता आवश्यक रहेको उनको भनाइ छ। लगानीकर्ताले दीर्घकालीन योजना बनाउन सक्ने वातावरण बनाउनुपर्ने उनले बताए।

ज्योतीले अटोमोबाइल क्षेत्रले अर्थतन्त्र र सरकारी राजस्वमा महत्त्वपूर्ण योगदान गरिरहेको दाबी गरे। आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार अटोमोबाइल क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा करिब ७ प्रतिशत योगदान गरेको उनको भनाइ छ। यस क्षेत्रबाट सरकारले करिब ८९ अर्ब रुपैयाँ राजस्व प्राप्त गर्दै आएको उनले बताए।

उनले विद्युतीय तथा स्वच्छ ऊर्जामा आधारित सवारी साधनको प्रयोग बढाउने सरकारी नीतिलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। पेट्रोलमा इथानोल मिसाउने नीतिले पनि आयातित इन्धनमा निर्भरता घटाउन सहयोग पुग्ने उनको भनाइ छ।

नेपालमा इथानोलको उत्पादन र प्रयोग बढाउन सके स्थानीय स्रोतको उपयोग गर्न सकिने उनले बताए। यसबाट पेट्रोल आयातमा बाहिरिने रकमसमेत केही हदसम्म रोक्न सकिने उनको भनाइ छ। साथै, प्रदूषण न्यूनीकरणमा पनि यसले योगदान पुर्‍याउने उनले बताए।

अटोमोबाइल उद्योगको विस्तारले रोजगारीसँगै प्राविधिक सीप विकासमा पनि सहयोग गरिरहेको ज्योतीले बताए। अहिले नेपालका धेरै एसेम्ब्ली उद्योगमा विदेशी कामदारको निर्भरता न्यून रहेको उनले बताए।

व्यवस्थापनदेखि उत्पादन र गुणस्तर परीक्षणसम्मका क्षेत्रमा नेपाली जनशक्तिले जिम्मेवारी सम्हालिरहेको उनको भनाइ छ। यसले नेपाली कामदारमा प्राविधिक सीप विकास गर्ने अवसर बढाएको उनले बताए।

तर, नेपालमा जनशक्तिको अवस्थालाई लिएर गम्भीर चुनौती रहेको उनको भनाइ छ।

एकातिर उद्योगले दक्ष जनशक्ति विदेशबाट ल्याउनुपर्ने अवस्था छ। अर्कोतिर नेपाली दक्ष जनशक्ति रोजगारीका लागि विदेशिइरहेको छ।

यसको प्रमुख कारण शैक्षिक संस्था र निजी क्षेत्रबीचको कमजोर समन्वय रहेको ज्योतीले बताए। शिक्षा र उद्योगबीचको दूरी घटाउनुपर्ने उनको भनाइ छ।

‘हाम्रो एकेडेमिया र प्राइभेट सेक्टरबीच ठूलो ग्याप छ। थियोरेटिकल नलेज छ, तर वास्तविक उद्योगलाई चाहिने स्किल सेटमा ठूलो ग्याप छ,’ उनले भने।

उद्योगको आवश्यकता हेरेर शैक्षिक पाठ्यक्रम परिमार्जन गर्नुपर्ने उनले बताए। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप दिनुपर्ने उनको भनाइ छ।

उद्योग र शैक्षिक संस्थाबीच सहकार्य बढाउन सके रोजगारीका अवसर पनि बढ्ने उनले बताए।

ज्योतीका अनुसार नेपालमा करिब ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले सिर्जना गरिरहेको छ। कुल जीडीपीमा निजी क्षेत्रको योगदान करिब ८२ प्रतिशत रहेको उनले बताए।

निजी क्षेत्रका उद्यमीलाई सम्मान र लगानीको सुरक्षा सुनिश्चित गर्न सके अर्थतन्त्रले ठूलो फड्को मार्न सक्ने उनको विश्वास छ। त्यसका लागि स्थिर नीति, लगानीमैत्री वातावरण र उद्योगलाई आवश्यक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उनले बताए।