काठमाडौं। उद्यमी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विदुषी राणाले नेपालबाट विदेशिनु युवाको बाध्यता नभई रोजाइ बन्नुपर्ने बताएकी छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउने : प्रक्रियामार्फत नेपालमा शिक्षा सीप र उद्यमशीलताको खाडल पुर्ने’ संवादमा उनले देशभित्र पर्याप्त अवसर र रोजगारी सिर्जना गर्न नसक्दा युवा विदेशिन बाध्य भइरहेको बताइन्।
उनले नेपालमै अवसर सिर्जना गर्ने वातावरण बनाउन सरकार र निजी क्षेत्र दुवैले भूमिका खेल्नुपर्नेमा जोड दिइन्।
‘कुनै पनि देश छोड्ने कुरा युवाका लागि बाध्यता हुनुहुँदैन, यो उसको च्वाइस हुनुपर्छ। तर, नेपालमा अवसर नभएकाले देश छोड्नैपर्ने अवस्था छ,’ उनले भनिन्, ‘युवालाई नेपालमै राख्न सरकार र उद्यमी मिलेर अनुकूल वातावरण बनाउनुपर्छ।’
नेपालमै उद्योग, होटल, सूचना प्रविधि, अटोमोबाइल लगायत विभिन्न क्षेत्रमा ठूलो सम्भावना रहेपनि त्यसको उपयोग गर्न नसकिएको उनको भनाइ छ। उद्योग स्थापना र सञ्चालनका क्रममा व्यवसायीले भोग्नुपर्ने कठिनाइ, नीतिगत जटिलता र कानुनी अवरोध हटाउनुपर्ने उनले बताइन्।
उद्यमीको पृष्ठभूमिबाट राजनीतिमा आएकी राणाले उद्योग सञ्चालन गर्दा दैनिक रूपमा अनेकौँ चुनौती सामना गर्नुपर्ने अनुभव सुनाइन्। उनका अनुसार मुलुकको आर्थिक विकासका लागि अर्थतन्त्रलाई प्राथमिकतामा राख्दै उद्योग तथा व्यवसाय सञ्चालनको वातावरण सहज बनाउन आवश्यक छ।
उद्योगमा आवश्यक जनशक्ति र शैक्षिक संस्थाबाट उत्पादन हुने जनशक्तिबीच ठूलो अन्तर रहेको उनको भनाइ छ। आफ्नो उद्योगमा औद्योगिक इन्जिनियर लगायत प्राविधिक जनशक्तिको आवश्यकता भएपनि नयाँ कर्मचारीलाई उद्योगको काम सिकाउन लामो समय लाग्ने र अनुभव हासिल गरेपछि उनीहरू विदेश जाने गरेको उनले बताइन्।
उनका अनुसार इन्जिनियरिङ मात्र नभई आईटी, वित्त, चार्टर्ड एकाउन्टेन्सी लगायत सबै क्षेत्रमा दक्ष जनशक्ति विदेशिने प्रवृत्ति छ। विदेशमा अवसर राम्रो भएकाले युवा आकर्षित हुनु स्वाभाविक भए पनि नेपालमा उनीहरूलाई रोक्ने र फर्किएर काम गर्ने वातावरण निर्माण गर्नुपर्ने उनले बताइन्।
‘शिक्षालाई उद्योगसँग जोड्न एकदमै जरुरी छ। अटोमोबाइल उद्योगलाई ई-भेहिकल इन्जिनियर चाहिएको छ, म्यानुफ्याक्चरिङलाई मेसिन अपरेटर चाहिएको छ, गार्मेन्टलाई डिजाइनर चाहिएको छ। आईटी क्षेत्रलाई पनि निश्चित प्रकारको जनशक्ति चाहिन्छ। तर, उद्योगको आवश्यकता अनुसारको पाठ्यक्रम हामीले बनाउन सकेका छैनौँ,’ उनले भनिन्।
राणाले विद्यार्थीलाई कक्षाकोठामा मात्र सीमित नराखी उद्योग, कारखाना, वर्कसप, होटल तथा उत्पादन केन्द्रमै पुगेर सिक्ने अवसर दिनुपर्ने बताइन्।
उनले युवालाई व्यवसाय सुरु गर्न सहज वातावरण बनाउन ‘वान विन्डो सिस्टम’ आवश्यक रहेको बताइन्। कुनै युवा व्यवसाय सुरु गर्न चाहँदा दर्ता, कर, वित्तीय स्रोत, अनुमति तथा अन्य स्वीकृतिका लागि विभिन्न कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ।
राणाले रोजगारी सिर्जना गर्ने उद्यमी र उद्योगीप्रतिको सामाजिक दृष्टिकोणसमेत परिवर्तन गर्नुपर्ने बताइन्। सरकारको काम व्यवसायीलाई नियमन गर्ने मात्र नभई सहजीकरण र प्रोत्साहन गर्ने पनि भएको उनले बताइन्।
रोजगारी सिर्जना गर्ने, निर्यात बढाउने, आयात प्रतिस्थापन गर्ने र देशभित्रै मूल्य अभिवृद्धि गर्ने उद्योगलाई पहिचान गरी प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।