BIZMANDU
www.bizmandu.com

नाइमा मोबिलिटी एक्स्पो : अन्तिम दिनसम्म आइपुग्दा दर्शकको उत्साहजनक सहभागिता

२०८३ साउन ३१

नाइमा मोबिलिटी एक्स्पो : अन्तिम दिनसम्म आइपुग्दा दर्शकको उत्साहजनक सहभागिता
नाइमा मोबिलिटी एक्स्पो : अन्तिम दिनसम्म आइपुग्दा दर्शकको उत्साहजनक सहभागिता


काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ।

Tata
GBIME

साउन २६ गते सुरु भएको एक्स्पोले अन्तिम दिनसम्म आइपुग्दा उत्साहजनक सहभागिता पाएको छ।

शनिबार मात्रै ४२ हजारभन्दा बढी अवलोकनकर्ता एक्स्पो पुगेका थिए। ५ दिनमा अवलोकनकर्ताको सङ्ख्या डेढ लाख नाघेको आयोजकले जनाएको छ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले छ दिनमा डेढ लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्य राखेको थियो।

अवलोकनकर्ताको भीडले एक्स्पोस्थलको माहोललाई उत्साहपूर्ण बनाएको छ। उद्घाटनको दिन २९ हजारले एक्स्पो अवलोकन गरेका थिए।

दोस्रो दिन २६ हजार पुगे। तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले एक्स्पो भ्रमण गरे। शनिबारको भीडसँगै सहभागिताले नयाँ उचाइ लिएको हो।

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गरेका छन्।

आकर्षक डिजाइन र आधुनिक प्रविधिका सवारीसाधनले दर्शकको ध्यान खिचिरहेका छन्।

विद्युतीय कारदेखि ई-स्कुटरसम्म प्रदर्शनीमा छन्। विद्युतीय व्यावसायिक सवारी साधन पनि मुख्य आकर्षण बनेका छन्।

नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डले समेत आफ्ना उत्पादन प्रदर्शन गरेका छन्।

अवलोकनकर्ताको चासो पनि बदलिँदो देखिन्छ। उनीहरू ब्याट्री क्षमता र मोटरबारे जानकारी लिइरहेका छन्।

सवारीसाधनको रेन्जबारे प्रश्न गरिरहेका छन्। आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टीमा पनि उनीहरूको विशेष चासो छ।

रिसेल भ्यालू पनि धेरैको प्राथमिकतामा छ।

ग्राहक आकर्षित गर्न कम्पनीहरूले विभिन्न सुविधा दिएका छन्। स्टलमा नयाँ प्रविधिको जानकारी दिइएको छ।

सवारी साधनको विशेषता प्रत्यक्ष देखाइएको छ। कतिपय स्टलमा खरिदसम्बन्धी आकर्षक अफर पनि राखिएका छन्।

एक्स्पोमा हालसम्म विभिन्न ब्रान्डले ५३ नयाँ मोडल सार्वजनिक गरिसकेका छन्। यसले नेपाली अटोमोबाइल बजारमा विद्युतीय र प्रविधिमैत्री सवारी साधनको बढ्दो उपस्थितिलाई देखाएको छ।

नेपालमा दिगो, हरित र प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो। यो दोस्रो संस्करण हो।

स्वदेशी तथा बहुराष्ट्रिय सवारी साधन निर्माता र आयातकर्ताको सहभागिता छ।

नयाँ सवारीसाधन हेर्न, प्रविधि बुझ्न र बजारका विकल्पबारे जानकारी लिन दर्शक एक्स्पो पुगिरहेका छन्। ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ ले नेपाली अटोमोबाइल बजारमा विद्युतीय गतिशीलताको बढ्दो आकर्षणलाई समेत उजागर गरेको छ।