काठमाडौं। बैंकहरूको ब्याजदर घट्दा जीवन बीमा कम्पनीको नाफामा धक्का लागेको छ। आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूको खुद नाफा १०.५२ प्रतिशतले घटेको छ।
कम्पनीहरूले पोहोर ५ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। १४ वटा जीवन बीमा कम्पनीले अघिल्लो वर्ष ६ अर्ब ८ करोड ५३ लाख रुपैयाँ नाफा कमाएका थिए।
८ वटा कम्पनीले नाफा बढाउँदा ५ वटाको घटेको छ। राष्ट्रिय जीवन बीमा कम्पनी २ करोड ३८ लाख रुपैयाँ नोक्सानीमै गएको छ।
जीवन बीमा कम्पनीको दुई आर्थिक वर्षको नाफा हजारमा
| कम्पनी | २०८२/८३ | २०८१/८२ | फरक % |
| आइएमइ लाइफ | ५८४२४४ | ५८३३०१ | ०.१६ |
| रिलायबल नेपाल | ५८२६०२ | ५७०१९५ | २.१८ |
| नेपाल लाइफ | ४६५४५० | ५४७६८५ | -१५.०२ |
| सन नेपाल | ४१८५९९ | ५४२४७८ | -२२.८४ |
| एसियन लाइफ | ४१४२०० | ४०९३३७ | १.१९ |
| लाइफ इन्स्योरेन्स कर्पोरेसन | ४०५७७७ | ३१५८९३ | २८.४५ |
| सिटिजन लाइफ | ३९०८०४ | १८९१३६ | १०६.६३ |
| सानिमा रिलायन्स | ३८३८६५ | ३७७४९३ | १.६९ |
| सूर्यज्योति लाइफ | ३८०२१९ | ३५०२८६ | ८.५५ |
| मेट लाइफ | ३७९२७८ | ८४८२१९ | -५५.२९ |
| प्रभु महालक्ष्मी | ३७५५९३ | ३७०७४३ | १.३१ |
| नेसनल लाइफ | ३७०६१६ | ४१२८४३ | -१०.२३ |
| हिमालयन लाइफ | ३१७७७१ | ५४६९७४ | -४१.९ |
| राष्ट्रि जीवन बीमा कम्पनी | -२३८०१ | २०८०० | – |
| कुल | ५४४५२१७ | ६०८५३८३ | -१०.५२ |
बीमा कम्पनीको अधिकांश रकम बैंकहरूको मुद्दतीमा छ। मुद्दती निक्षेपको ब्याजदर ३ वर्षदेखि लगातार घटिरहेको छ। वाणिज्य बैंकको निक्षेपको औसत ब्याज नै न्यून विन्दुमा छ। मुद्दतीको लगानीले लागत समेत धान्न नसक्ने भएपछि इन्स्योरेन्स कम्पनी तनावमा छन्।
आम्दानी घट्दाको असर यस पटक कम्पनीको खुद नाफामा परेको हो। गत वर्ष आइएमई लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ५८ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ। सिटिजन लाइफले सबैभन्दा धेरै १०६ प्रतिशतले वृद्धि गरेको छ।