काठमाडौं। आर्थिक वर्ष २०८२/८३ मा तीन वटा सिमेन्ट कम्पनीको नाफा वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ५ मध्ये सर्वोत्तम सिमेन्ट र सोनापुर मिनरल्स एण्ड आयलले नाफा बढाउँदा घोराही सिमेन्टले नोक्सानी घटाएको छ।
सर्वोत्तम सिमेन्टले सबैभन्दा धेरै १ अर्ब १० करोड रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले अघिल्लो वर्षभन्दा ७.७ प्रतिशतले नाफा वृद्धि गरेको हो। सोनापुरले ३३ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ। यो रकम अघिल्लो वर्षभन्दा ६१३ प्रतिशत धेरै हो।
कम्पनी आर्थिक वर्ष २०८१/८२ मा ४ करोड ७२ लाख रुपैयाँ नाफामा थियो। घोराही सिमेन्टले नोक्सानी घटाएको छ। अघिल्लो वर्ष ५५ करोड ४३ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले गत वर्ष ३० करोड ८० लाख रुपैयाँमा झारेको छ।
शिवम् र पाल्पा सिमेन्टको नाफा घटेको छ। आर्थिक गतिविधिमा आएको सुस्तता र निर्माण काम तीव्र रुपमा अगाडि बढ्न नसक्दा कम्पनीहरुको उत्पादन घटेर आम्दानी प्रभावित बनेको हो।
नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनीको दुई आर्थिक वर्षको नाफा हजारमा
| कम्पनी | २०८२/८३(नाफा) | २०८१/८२ (नाफा) | फरक % |
| सर्वोत्तम सिमेन्ट | ११०७४२९ | १०२८२४४ | ७.७ |
| शिवम् सिमेन्ट | ७८४४७४ | ७९८१८६ | -१.७२ |
| सोनापुर मिनरल्स एण्ड आयल | ३३७१४७ | ४७२५० | ६१३.५४ |
| पाल्पा सिमेन्ट इन्डष्ट्रिज | ३९९९२ | ९७५४५ | -५९ |
| घोराही सिमेन्ट | -३०८०७२ | -५५४३६४ | – |
सरकारले नै गत वर्ष पुँजीगत बजेट लक्ष्य अनुसार खर्च गर्न सकेन। गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको राजीनीतिक अनिश्चितताले विकास निर्माणदेखि अर्थतन्त्रका अरु गतिवि ठप्प हुँदा बजारमा माग बढ्न सकेन। जसको असर सिमेन्ट कम्पनीको व्यवसायमा परेको हो।
बजारमा माग बढ्न नसक्दा कम्पनीहरुले पूर्ण क्षमतामा उत्पादन गर्न सकिरहेका छैनन्।
गत वर्ष सूचीकृत तीन वटा कम्पनीले व्यापार बढाएका छन्। सर्वोत्तम सिमेन्टले सबैभन्दा धेरै १० अर्ब २५ करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको छ। शिवम् सिमेन्टले ६ अर्ब ९२ करोड रुपैयाँको व्यापार गरेको छ।
पाल्पा सिमेन्टले ४ अर्ब ७६ करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको छ। यो रकम अघिल्लो वर्ष सोही अवधिको भन्दा १५.९प्रतिशत धेरै हो। घोराही सिमेन्टले ४ अर्ब ७२ करोड रुपैयाँको सिमेन्ट बिक्रीबापत आम्दानी गरेको छ।
यस्तै, सोनापुरले ४ अर्ब ४१ करोड रुपैयाँ आम्दानी गरेको छ। यो रकम अघिल्लो वर्षभन्दा ६९.९९ प्रतिशत धेरै हो।
नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनीको दुई आर्थिक वर्षको व्यापार हजारमा
| कम्पनी | २०८२/८३(सञ्चालन आम्दानी) | २०८१/८२ (सञ्चालन आम्दानी) | फरक % |
| सर्वोत्तम सिमेन्ट | १०२५८५२७ | ९५३७३३३ | ७.५६ |
| शिवम् सिमेन्ट | ६९२२६५७ | ७७६६५७६ | -१०.८७ |
| पाल्पा सिमेन्ट इन्डष्ट्रिज | ४७६५९३९ | ४११२००९ | १५.९ |
| घोराही सिमेन्ट | ४७२९९२८ | ५०५२५३० | -६.३८ |
| सोनापुर मिनरल्स एण्ड आयल | ४४१५९०० | २५९७७०९ | ६९.९९ |