काठमाडौं। रसुवा र तातोपानी नाका लामो समयदेखि अवरुद्ध भएपछि मुस्ताङको कोरला नाकाबाट आयात बढ्न थालेको छ।
पहिरोका कारण दुई प्रमुख उत्तरी नाका असहज बनेपछि व्यवसायीले वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गर्न थालेका हुन्।
तातोपानी नाका करिब २९ दिनदेखि नियमित रूपमा सञ्चालन हुन सकेको छैन। रसुवा नाकाबाट पनि वर्षा र पहिरोका कारण सामान आयात तथा ढुवानी प्रभावित भएको छ।
दुवै नाका प्रभावित भएपछि मुस्ताङ भन्सारमा आयातको चाप बढेको भन्सार कार्यालयले जनाएको छ। मुस्ताङ भन्सार प्रमुख विदुर चुडालका अनुसार पहिले महिनामा १० देखि १२ कन्टेनर आउने गरेकामा अहिले दैनिक ८ भन्दा बढी कन्टेनर भित्रिन थालेका छन्।
मुस्ताङ नाकाबाट पछिल्लो समय विद्युतीय सवारी साधनसँगै दसैं लक्षित सामग्रीसमेत आउन थालेका छन्। रेडिमेड कपडा, ब्याग, पर्दाको कपडा, जुत्ताचप्पल र बालबालिकाका सामग्री नियमित रूपमा भन्सार पास भइरहेका छन्।
साउनमा मात्रै मुस्ताङ भन्सारबाट करिब १०० विद्युतीय तथा अन्य सवा रीसाधन भित्रिएका छन्। केही दिनअघि अटो सोका लागि ल्याइएका बीवाइडीका १४ वटा विद्युतीय गाडीसमेत भन्सार पास भएर गएका थिए।
मुस्ताङ भन्सारले साउनमा ६० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो। हालसम्म करिब २६ करोड रुपैयाँ राजस्व संकलन भएको र त्यसमा विद्युतीय सवारी साधनको आयातको योगदान धेरै रहेको चुडालले बताए।
तातोपानी नाकाबाट पहिरोका कारण भन्सार यार्डमा रहेका सामानसमेत नियमित रूपमा काठमाडौं ल्याइएको छैन। भन्सार कार्यालयदेखि चीनतर्फ जाने र काठमाडौं आउने दुवै सडक खण्डमा पहिरो गएपछि आयात प्रभावित भएको हो।
रसुवा भन्सार कार्यालयको यार्डमा पनि ४० भन्दा बढी कन्टेनर सामान रोकिएका छन्। रसुवातर्फ पानी परेपछि नेपालतर्फको सडक अवरुद्ध हुने र एक दिन खुलेको बाटो अर्को दिन फेरि बन्द हुने अवस्था रहेको भन्सार प्रमुख राजेन्द्र ढुङ्गानाले बताए।
हाल केरुङबाट केही मात्रामा सामान आइरहेको छ। सडकको अवस्थाका कारण ठूला सवारी साधन मात्र सञ्चालन भइरहेका छन् भने विद्युतीय गाडी र भ्यान पठाउन समस्या भएको ढुङ्गानाले बताए।
तातोपानी नाकाको सडक मर्मतको काम भने जारी छ। तातोपानी भन्सार प्रमुख दिपेन्द्र प्रकाश गिरीका अनुसार पानी नपरे केही दिनमा सडक सहज हुने सम्भावना छ।
तर, रातभर पानी पर्दा निर्माण गरिएको सडकसमेत पुनः बिग्रिने गरेको छ। तातोपानी नाकाको विभिन्न स्थानमा पहिरो गएकाले तत्काल नियमित आयात सञ्चालन गर्न चुनौती देखिएको गिरीले बताए।
उत्तरी नाकामा देखिएको अवरोधले चाडपर्व लक्षित आयातसमेत प्रभावित हुने जोखिम बढेको छ। सडक सहज नभएसम्म व्यवसायीले तुलनात्मक रूपमा सञ्चालनमा सहज रहेको कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने देखिएको छ।