काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोको ५ दिनमै डेढ लाखभन्दा बढीले अवलोकन गरेका छन्।
आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले ६ दिनमा डेढ लाख अवलोकनकर्ता आउने लक्ष्य राखेको थियो।
शनिबार मात्रै ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन्। लगातारको वर्षाका बीच पनि ठूलो संख्यामा अवलोकनकर्ता पुगेपछि आयोजक उत्साहित बनेको छ।


एक्स्पोको पहिलो दिन २९ हजारले अवलोकन गरेका थिए। दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढी अवलोकनकर्ता पुगेका थिए।
अवलोकनकर्ताको चाप बढेपछि शनिबार पार्किङ व्यवस्थापनमा समेत समस्या भएको थियो। भृकुटीमण्डप परिसर, नेपाल प्रहरी क्लब र खाद्य गोदाम ग्राउन्ड लगायत क्षेत्रमा पार्किङको व्यवस्था गरिएको थियो।


एक्स्पोको पाँचौँ दिनसम्म आयोजकको लक्ष्य पूरा भइसकेको अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले बताए। उनले अन्तिम दिन पनि एक्स्पो अवलोकन गरेर कार्यक्रमलाई थप विशेष बनाउन आग्रह गरेका छन्।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन्। विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गर्दै अवलोकनकर्तालाई आफ्ना स्टलतर्फ आकर्षित गरिरहेका छन्।


एक्स्पो अवधिमा हालसम्म ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक भइसकेका छन्। पाँचौँ दिन लक्ष्मी मोटरहबले आर्कफक्स एसयूभी सार्वजनिक गरेको थियो।
अवलोकनकर्ताले विशेषगरी विद्युतीय सवारीका ब्याट्री, मोटर, रेन्ज र चार्जिङ सुविधाबारे चासो राखेका छन्। आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी तथा गाडीको रिसेल भ्यालू पनि उनीहरूको प्राथमिकतामा परेको छ।


ग्राहक आकर्षित गर्न कम्पनीहरूले विभिन्न छुट तथा सुविधा उपलब्ध गराएका छन्। केही कम्पनीले बीमा, सवारी कर, निःशुल्क सर्भिसिङ र सहुलियत ब्याजदरमा कर्जाको सुविधा दिएका छन्।
एक्स्पोमा नयाँ विद्युतीय कार, ई-स्कुटर र विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षण बनेका छन्। नेपालमा पहिलोपटक प्रवेश गरेका केही ब्रान्डले समेत आफ्ना उत्पादन प्रदर्शन गरेका छन्।


एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले पनि सवारी खरिदका लागि विशेष योजना ल्याएका छन्। यसले इच्छुक ग्राहकलाई आफ्नो बजेटअनुसार सवारी छनोट र खरिद गर्न थप सहज बनाएको आयोजकको भनाइ छ।
एक्स्पो अवधिमा प्रविधि र मोबिलिटीसँग सम्बन्धित विभिन्न संवादसमेत आयोजना गरिएको छ। शनिबार ‘एआई एन्ड अटोमोटिभ टेक्नोलोजी : ड्राइभिङ द फ्यूचर अफ मोबिलिटी’ विषयमा विज्ञहरूबीच छलफल भएको थियो।


यसअघि वित्त तथा बीमा, ब्याट्री रिसाइकल, इथानोल ब्लेन्डिङ र मोबिलिटीको भविष्यबारे संवाद भएका थिए। कार्यक्रममा स्वदेशी तथा विदेशी विज्ञहरूले नेपालको यातायात क्षेत्रको प्रविधि र भविष्यबारे धारणा राखेका छन्।
दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो। दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पो आइतबार अन्तिम दिनसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ।








