काठमाडौं। नेपाल आयल निगमले ग्यास अभाव भएका उपभोक्तालाई राहत दिन काठमाडौंका ७ स्थानबाट सिलिन्डर बिक्री गर्ने भएको छ।
निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा आइतबार बिहानदेखि तोकिएका स्थानबाट ग्यास बिक्री गर्ने जनाएको हो।
निगमका अनुसार टेकुस्थित निगमको परिसर, पशु सेवा शाखा चपली र बुढानिलकण्ठमा ग्यास बिक्री हुनेछ। त्यस्तै, राधास्वामी, कीर्तिपुर, नयाँ बजार जुडो हल, तारकेश्वर नगरपालिका र चन्द्रागिरि नगरपालिका कार्यालय परिसरबाट पनि सिलिन्डर पाइनेछ।
राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट समेत उपभोक्तालाई ग्यास बिक्री गर्ने व्यवस्था गरिएको छ। ती स्थानमा विभिन्न ग्यास उद्योगका सिलिन्डर बिक्रीका लागि राखिने निगमले जनाएको छ ।
टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सागर ब्रान्डका सिलिन्डर बिक्री हुनेछन्। पशु सेवा शाखा चपली र बुढानिलकण्ठबाट नेपाल, एचपी र भानु ब्रान्डका सिलिन्डर उपलब्ध हुनेछन्।
राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्ड बिक्री गरिनेछ। नयाँ बजार जुडो हलबाट नेपाल, एचपी र ओम तथा तारकेश्वर नगरपालिकाबाट नेपाल र एचपी ब्रान्डका सिलिन्डर बिक्री हुनेछन्।
चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ब्रान्डका सिलिन्डर उपलब्ध हुनेछन्। राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट नेपाल, एचपी, सूर्य, सागर, एभरेस्ट/सुगम र एसटीसी ब्रान्ड बिक्री गरिने निगमले जनाएको छ।
निगमले नियमित रूपमा एलपी ग्यास आयात भइरहेको जनाएको छ। ग्यास बिक्री वितरणसँग सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेतामार्फत नियमित रूपमा बिक्री गर्नसमेत अनुरोध गरिएको छ।
विक्रेताबाट ग्यास पाउन नसकेका उपभोक्तालाई मात्र तोकिएका स्थानमा ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ। त्यस्ता उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास खरिद गर्न सक्नेछन्।