BIZMANDU
www.bizmandu.com

प्रविधिमैत्री सवारी बढे पनि आवश्यक दक्ष जनशक्ति उत्पादनमा नेपाल पछाडि नै : सुमन थपलिया

२०८३ साउन ३०

प्रविधिमैत्री सवारी बढे पनि आवश्यक दक्ष जनशक्ति उत्पादनमा नेपाल पछाडि नै : सुमन थपलिया
प्रविधिमैत्री सवारी बढे पनि आवश्यक दक्ष जनशक्ति उत्पादनमा नेपाल पछाडि नै : सुमन थपलिया


काठमाडौं। नेपालमा अत्याधुनिक सवारीसाधनको प्रयोग बढे पनि त्यसअनुसारको दक्ष जनशक्ति उत्पादन हुन नसकेको डा. सुमन थपलियाले बताएका छन्।

Tata
GBIME

टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीका सूचना प्रविधि निर्देशक थपलियाले शिक्षण संस्थाले पाठ्यक्रम र शिक्षण पद्धति तत्काल परिवर्तन गर्नुपर्ने बताए।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजना गरेको संवादमा उनले यस्तो बताएका हुन्। ‘एआई एन्ड अटोमोटिभ टेक्नोलोजी : ड्राइभिङ द फ्यूचर अफ मोबिलिटी’ विषयक सेसनमा उनले नयाँ प्रविधिसँगै अनुसन्धान र जनशक्ति विकासलाई प्राथमिकता दिनुपर्ने बताए।

उनका अनुसार नेपालमा विद्युतीय तथा अत्याधुनिक सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेको छ। तर, त्यसमा प्रयोग हुने सेन्सर, स्वचालन, एआई र डिजिटल प्रणालीबारे विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने शैक्षिक संरचना पर्याप्त छैन।

थपलियाले अधिकांश कलेज तथा विश्वविद्यालय अझै प्रोग्रामिङ, वेब डेभलपमेन्ट, डेटाबेस र नेटवर्किङजस्ता परम्परागत विषयमा केन्द्रित रहेको बताए। आधुनिक सवारीसाधनका लागि आवश्यक एम्बेडेड सिस्टम, रोबोटिक्स, एज कम्प्युटिङ र अटोमोटिभ सफ्टवेयरमा पर्याप्त ध्यान नपुगेको उनको भनाइ छ।

उनले नेपालका सडक र भौगोलिक अवस्थाअनुसार सवारी प्रविधिमा स्थानीय अनुसन्धान आवश्यक रहेको बताए। विशेषगरी विद्युतीय सवारीको रेन्ज, चार्जिङ पूर्वाधार र यात्राका क्रममा देखिन सक्ने प्राविधिक जोखिमबारे नेपालमै अध्ययन गर्नुपर्ने उनको भनाइ छ।

विकसित मुलुकका लागि निर्माण भएका सवारी साधन नेपालका सडक र आवश्यकतासँग सधैँ मेल नखान सक्ने उनले बताए। त्यसैले नेपाली विद्यार्थीले स्थानीय सडक, यातायात र सवारी आवश्यकतामा आधारित अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिए।

थपलियाले एआईले शिक्षा क्षेत्रमा समेत ठूलो परिवर्तन ल्याइरहेको बताए। विद्यार्थीले प्रविधिको प्रयोगबाट छोटो समयमा नयाँ कुरा सिक्ने र विभिन्न काम गर्न सक्ने अवस्था बनेको उनको भनाइ छ।

अबको शिक्षामा एआईसँगै साइबर सुरक्षा, एम्बेडेड सिस्टम, रोबोटिक्स र डिजिटल फरेन्सिकलाई प्राथमिकता दिनुपर्ने उनले बताए। नयाँ पुस्ताका सवारीसाधनमा प्रयोग भएका ठूला स्क्रिन, सेन्सर, स्वचालित प्रणाली र सफ्टवेयरबारे विद्यार्थीलाई प्रत्यक्ष अभ्यास गराउनुपर्ने उनको धारणा छ।

नेपालमा विद्युतीय सवारीको प्रयोग र विकासबारे पनि थप अनुसन्धान आवश्यक रहेको उनले बताए। सार्वजनिक यातायातमा विद्युतको प्रयोग गर्दा आर्थिक र वातावरणीय रूपमा कस्तो लाभ हुन्छ भन्ने विषयमा समेत अध्ययन गर्नुपर्ने उनको भनाइ छ।

अटोमोबाइल उद्योग र शैक्षिक संस्थाबीच अनुसन्धान तथा लगानीमा सहकार्य आवश्यक रहेको थपलियाले बताए। उद्योगले भविष्यमा आवश्यक पर्ने जनशक्ति विकासमा सहयोग गर्नुपर्ने र शिक्षण संस्थाले उद्योगसँग मिलेर अनुसन्धान अघि बढाउनुपर्ने उनले बताए।

उनले समयमै पाठ्यक्रम र अध्ययन प्रणाली परिवर्तन नगरिए नेपाली विद्यार्थी भविष्यको रोजगारी बजारमा पछि पर्न सक्ने चेतावनी दिए। उनका अनुसार प्रविधिले भरिएका सवारीसाधन भित्र्याउने मात्र होइन, त्यसलाई बुझ्ने र विकास गर्न सक्ने जनशक्ति पनि नेपालमै तयार गर्नुपर्छ।