काठमाडौं। कांग्रेसमा संस्थापनइतर एवम् पूर्वसभापति शेरबहादुर देउवा पक्षधरको काठमाडौंमा जारी राष्ट्रिय भेलामा डा. प्रकाशशरण महत र पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले प्रतिवेदन प्रस्तुत गरेका छन्। पूर्वअर्थमन्त्री महतले पार्टीको भावी आर्थिक-सामाजिक र पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक कार्यदिशाको प्रतिवेदन प्रस्तुत गरेका हुन्।
महतको ‘नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा’ प्रतिवेदनले प्रजातान्त्रिक समाजवादको मूल लक्ष्यलाई कायम राख्दै बदलिँदो आर्थिक, सामाजिक र भूराजनीतिक परिस्थितिअनुसार नीति परिमार्जन गर्नुपर्नेमा जोड दिएको छ। प्रतिवेदनले आर्थिक वृद्धिमा देखिएको गतिरोध र गुणस्तरीय रोजगारीको अभावलाई प्रमुख चुनौतीका रूपमा औंल्याउँदै स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्ने उल्लेख गरेको छ।
निजी क्षेत्रलाई उत्पादन र रोजगारीको प्रमुख अगुवाका रूपमा अघि बढाउने तथा सरकारलाई नियामक, सहयोगी र उत्प्रेरक भूमिकामा सीमित गर्ने नीति महतको प्रतिवेदनको मुख्य आधार छ। लगानीसम्बन्धी कानुनलाई गैर–अपराधीकरण गर्दै वित्तीय जरिवानामा केन्द्रित गर्ने, धितोमा आधारित कर्जाको परम्परागत अभ्यास हटाएर परियोजनामा आधारित कर्जा प्रवाह गर्ने र वैदेशिक लगानी आकर्षित गर्ने नीति प्रस्ताव गरिएको छ।
कृषिमा आत्मनिर्भरता, उत्पादनमा आधारित अनुदान, बाँझो जमिनको व्यावसायिक उपयोग, कृषि पूर्वाधार विस्तार र कृषि विकास बैंकमार्फत सहुलियतपूर्ण कर्जालाई प्राथमिकता दिन प्रस्ताव गरिएको छ। त्यस्तै पर्यटन, जलविद्युत्, सूचना प्रविधि, पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई आर्थिक रूपान्तरणका प्रमुख क्षेत्रका रूपमा अघि सारिएको छ। जलविद्युत्मा निजी क्षेत्रको सहभागिता बढाउने, जलाशययुक्त आयोजनामा विदेशी लगानी आकर्षित गर्ने तथा ऊर्जा निर्यात विस्तार गर्ने नीति पनि प्रतिवेदनमा छ।
साउदले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रतिवेदनले भने कांग्रेस अहिले इतिहासकै कठिन राजनीतिक मोडमा पुगेको निष्कर्ष निकालेको छ। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ८९ सिट जितेको कांग्रेस पछिल्लो निर्वाचनमा ३८ सिटमा खुम्चिनुको कारण पार्टीभित्र निर्मम आत्मसमीक्षा आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।
जेनजी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता, रोजगारी र नागरिक स्वतन्त्रताका प्रश्न जायज भए पनि हिंसा, आगजनी र सार्वजनिक सम्पत्तिको विनाशलाई लोकतान्त्रिक आन्दोलनको माध्यम मान्न नसकिने साउदको प्रतिवेदनमा उल्लेख छ। आन्दोलनमा भएको घुसपैठ, हिंसा फैलिनुको कारण र राज्यको प्रतिक्रियाबारे निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग पनि गरिएको छ।
प्रतिवेदनले संविधानको रक्षा गर्दै आवश्यक सुधार गर्नुपर्ने, परराष्ट्र नीतिमा भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्दै राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने तथा कांग्रेसलाई व्यक्तिकेन्द्रित होइन, संस्थागत, नीति–केन्द्रित र युवा पुस्ताको अर्थपूर्ण सहभागितासहितको आधुनिक पार्टीका रूपमा पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएको छ। पार्टीको पहिलो आवश्यकता एकता कायम गर्नु भएको उल्लेख गर्दै साउदले कांग्रेसको पुनर्जागरण सत्ता प्राप्तिभन्दा जनविश्वास पुनःस्थापनामा केन्द्रित हुनुपर्ने प्रस्ताव गरेका छन्।