BIZMANDU
www.bizmandu.com

३१० किलोमिटर रेन्जको आर्कफक्स टी१ नेपालमा सार्वजनिक, मूल्य ३२ लाख ९६ हजारबाट सुरु

२०८३ साउन ३०

३१० किलोमिटर रेन्जको आर्कफक्स टी१ नेपालमा सार्वजनिक, मूल्य ३२ लाख ९६ हजारबाट सुरु
३१० किलोमिटर रेन्जको आर्कफक्स टी१ नेपालमा सार्वजनिक, मूल्य ३२ लाख ९६ हजारबाट सुरु


काठमाडौं । चिनियाँ इभी ब्राण्ड आर्कफक्सको नयाँ एसयूभी आर्कफक्स टी१ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि बिक्रेता लक्ष्मी मोटरहबले नाइमा मोबिलिटी एक्स्पोमार्फत टी१ प्रदर्शनमा राखेको हो।

Tata
GBIME

कम्पनीले आर्कफक्स टी१ का दुई संस्करण सार्वजनिक गरेको छ। यसमा एलभी-२ को मूल्य ३२ लाख ९६ हजार रुपैयाँ र एलभी-३ को मूल्य ३५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

आर्कफक्स टी१ मा स्थायी चुम्बक प्रविधिमा आधारित ७० किलोवाट क्षमताको विद्युतीय मोटर प्रयोग गरिएको छ, यसले अधिकतम १७० एनएम टर्क उत्पादन गर्छ। यसमा ४२.३ किलोवाट घण्टा क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले एकपटक पूर्ण चार्जमा ३१० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ।

यसको अधिकतम गति १४० किलोमिटर प्रतिघण्टाभन्दा बढी रहेको छ। कम्पनीका अनुसार ३० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न करिब २५ मिनेट लाग्छ। ७ किलोवाट क्षमताको होम चार्जरबाट भने ब्याट्री पूर्ण चार्ज गर्न करिब आठ घण्टा लाग्नेछ।

आर्कफक्स टी१ को लम्बाइ ४ हजार ३३७ मिलिमिटर, चौडाइ १ हजार ८५० मिलिमिटर, उचाइ १ हजार ५७३ मिलिमिटर र ह्विलबेस २ हजार ७५० मिलिमिटर रहेको छ। संस्करणअनुसार यसको ग्राउन्ड क्लियरेन्स १६७ देखि १८१ मिलिमिटरसम्म छ। अगाडि म्याकफर्सन र पछाडि टर्सन बिम सस्पेन्सन दिइएको छ।

फिचरतर्फ टी१ मा १५.६ इन्चको टचस्क्रिन, एप्पल कारप्ले, ब्लुटुथ, आवाजबाट नियन्त्रण गर्न सकिने प्रणाली, स्मार्ट ककपिट, अगाडि वायरलेस फोन चार्जिङ, पछाडि यूएसबी चार्जिङ, प्यानोरामिक सनरुफ, फ्रेमलेस झ्याल, विद्युतीय टेलगेट र विद्युतीय रूपमा समायोजन गर्न सकिने साइड मिररलगायत सुविधा छन्।

उच्च संस्करणमा अनुकूली क्रुज नियन्त्रण, स्वचालित आपत्कालीन ब्रेकिङ, लेन परिवर्तन तथा लेनबाट बाहिरिने चेतावनी, अगाडि–पछाडि पार्किङ राडार, वरिपरिको दृश्य देखाउने क्यामेरा, स्वचालित पार्किङ र ट्राफिक जाम असिस्टेन्टजस्ता उन्नत सुरक्षा प्रविधि उपलब्ध छन्।

एलभी ३ संस्करणमा थप उन्नत चालक सहायता प्रणालीसँगै अगाडिका सिट तताउने तथा हावा प्रवाह गराउने सुविधा र मेमोरी फङ्सनसहितको सिट दिइएको कम्पनीले जनाएको छ। इभी बजारमा यो नयाँ एसयूभीले मूल्य, रेन्ज र प्रविधिका आधारमा प्रतिस्पर्धा गर्ने अपेक्षा कम्पनीको छ।