माउमेरे (इन्डोनेसिया)। इन्डोनेसियाको तटभन्दा बाहिर शनिबार बिहान शक्तिशाली ७.७ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण भवन तथा घरहरू भत्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ठूलो त्रास फैलिएको छ।
भूकम्पलगत्तै सरकारी अधिकारीहरूले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई अग्लो स्थानतर्फ जान आग्रह गरेका थिए। तर, समुद्रको सतहमा तटीय बस्तीलाई जोखिममा पार्ने गरी उल्लेख्य परिवर्तन नदेखिएपछि चेतावनीको उक्त सूचना पछि गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार शनिबार बिहान ५:५८ बजे फ्लोरेस क्षेत्रमा भूकम्प गएको हो। १० किलोमिटर गहिराइमा गएको भूकम्पको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गारा प्रान्तको एन्डे सहरबाट ६८ किलोमिटर उत्तर–उत्तरपश्चिममा थियो। प्रारम्भिक भूकम्पपछि केही परकम्पसमेत आएका छन्।
पूर्वी नुसा तेङ्गारा प्रहरी प्रमुख रुडी दार्मोकोका अनुसार प्रारम्भिक विवरणमा सिक्का रिजेन्सीमा दुई र माङ्गाराई रिजेन्सीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। भूकम्पका कारण भवनहरू भत्किनुका साथै ठूलो क्षति पुगेको छ। विद्युत् आपूर्ति अवरुद्ध हुँदा सहर तथा गाउँहरूमा सूचना आदानप्रदान प्रभावित भएको र खोज तथा उद्धार कार्यसमेत कठिन बनेको उनले बताए।
‘हामी क्षति र मानवीय क्षतिबारे थप विवरण संकलन गरिरहेका छौँ, तर सञ्चारमा समस्या देखिएको छ,’ दार्मोकोले भने।
स्थानीय टेलिभिजनमा प्रसारित दृश्यमा भूकम्पपछि सावधानीस्वरूप विभिन्न अस्पतालका बिरामीलाई भवनबाट बाहिर निकालिएको देखाइएको छ। अस्पतालका कर्मचारीले बेड, आईभी स्ट्यान्ड र अक्सिजन सिलिन्डरसहितका उपकरण बाहिर सारेर खुला स्थानमा अस्थायी उपचार केन्द्रसमेत बनाएका थिए।
फ्लोरेस टापुका विभिन्न क्षेत्रमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो। सिक्का रिजेन्सीकी बासिन्दा योहाना एम्बुका अनुसार भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ। मानिसहरू आत्तिएर अग्लो स्थानतर्फ भागेका थिए। उनका अनुसार माउमेरेस्थित बन्दरगाह टर्मिनलको प्रतीक्षालयसमेत भत्किएको छ।
सिक्कास्थित सेन्ट पिटर मेजर सेमिनरीमा बिहानको प्रार्थनामा सहभागी विद्यार्थीहरू पनि भवनको छानो भत्किन थालेपछि भागेका थिए। स्थानीय रूपमा रितापिरेत सेमिनरी भनेर चिनिने उक्त संस्थाका प्रमुख पादरी गुइडेलबर्टुस ताङ्गाका अनुसार छानो भत्किँदा विद्यार्थी र ननहरू त्रसित हुँदै बाहिरिएका थिए। भवनको दोस्रो तलाबाट हाम फाल्दा कम्तीमा एक पादरीको खुट्टा भाँचिएको उनले बताए।
भूकम्पका कारण छिमेकी पश्चिम नुसा तेङ्गारा प्रान्तको बिमा सहरमा पनि त्रास फैलिएको थियो। दक्षिणी सुलावेसी टापुका केही क्षेत्रमा समेत क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।
इन्डोनेसियाली अधिकारीहरूले सुरुमा पूर्वी नुसा तेङ्गारा, पश्चिम नुसा तेङ्गारा, दक्षिण सुलावेसी र दक्षिणपूर्वी सुलावेसी प्रान्तका केही क्षेत्रमा सुनामी चेतावनी जारी गरेका थिए। उनीहरूले मानिसलाई समुद्र किनार तथा नदी किनारबाट टाढा रहन आग्रह गरेका थिए। तर, मौसम विज्ञान, जलवायु तथा भूभौतिकी निकायले समुद्रको सतहमा उल्लेख्य परिवर्तन नदेखिएको बताएपछि चेतावनी हटाइएको हो।
१७ हजारभन्दा बढी टापु रहेको इन्डोनेसिया प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले भूकम्प र ज्वालामुखी गतिविधिका दृष्टिले अत्यन्त जोखिमपूर्ण मुलुक हो।
फ्लोरेसमा यसअघि पनि शक्तिशाली भूकम्पले ठूलो क्षति पुर्याएको इतिहास छ। सन् १९९२ मा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा फ्लोरेसमा करिब २ हजार ५०० जनाको मृत्यु भएको थियो। सन् २०१८ मा ७.५ म्याग्निच्युडको भूकम्पपछि आएको ठूलो स्थानीय सुनामीले तटीय क्षेत्र तहसनहस बनाएको थियो। त्यसबेला भूकम्पका कारण जमिन तरलीकरण हुँदा पूर्वी इन्डोनेसियाको पालु सहरका बस्तीहरू हिलोको भेलमा परिणत भएका थिए। उक्त विपत्तिमा ४ हजार ४०० भन्दा बढीको मृत्यु भएको थियो।
सन् २०१० मा सुमात्राको पश्चिमी तटबाहिरको मेन्तावाई द्वीपमा शक्तिशाली समुद्री भूकम्प गएको केही मिनेटमै करिब तीन मिटर अग्लो छाल आएको थियो। उक्त घटनामा ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने सयौँ घर नष्ट भएका थिए।
यसअघि सन् २००४ डिसेम्बरमा पश्चिमी इन्डोनेसियाको सुमात्रा तटबाहिर ९.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। त्यसबाट उत्पन्न सुनामीले १२ देशमा गरी करिब २ लाख ३० हजार मानिसको ज्यान लिएको थियो। (एपी)