काठमाडौं। इमेलमा अश्लील सन्देश पठाएर महिलाको चरित्रहत्या गरेको आरोपमा काठमाडौंको कपन बस्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल असार २६ गते पक्राउ परे।
बालाजु बस्ने नुवाकोटका १९ वर्षीय विवेक सुनार फेसबुक ह्याक गरी अनधिकृत पहुँचबाट ठगी गरेको आरोपमा असार २४ गते पक्राउ परे। यस्तै, इसेवाको कर्मचारी बनेर ठगी गरेको आरोपमा रौतहटका २२ वर्षीय शुभम साह असार २ गते पक्राउ परे।
यी तीन घटना साइबर अपराधको बदलिँदो स्वरूपका प्रतिनिधि उदाहरण हुन्। सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रयोग बढेसँगै त्यसैको दुरुपयोग गरेर ठगी, ब्ल्याकमेलिङ, चरित्रहत्या, अनधिकृत पहुँच र अनलाइन स्क्याम गर्ने क्रम पनि बढिरहेको छ। अपराधीले प्रविधिको नयाँ माध्यम प्रयोग गर्दै शैली परिवर्तन गर्न थालेपछि यसको अनुसन्धान प्रहरीका लागि समेत थप चुनौतीपूर्ण बनेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा निवेदन दर्ता भएका छन्। अघिल्लो आवमा १८ हजार ९२६ र आव २०८०/८१ मा १९ हजार ७३० वटा निवेदन दर्ता भएका थिए। गत आवमा साइबर अपराधसम्बन्धी १६१ वटा मुद्दा दर्ता भएका थिए भने १५५ जना पक्राउ परेका थिए।
दर्ता भएका निवेदनमध्ये सबैभन्दा धेरै सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित छन्। फेसबुक/मेसेन्जरबाट ७ हजार १२३, टिकटकबाट ६ हजार ७७६, ह्वाट्सएपबाट ३ हजार १०५, टेलिग्रामबाट १ हजार ३१ र इन्स्टाग्रामबाट ६२८ वटा निवेदन परेका छन्। इसेवा, खल्ती, बैंक खाता तथा एसएमएससँग सम्बन्धित ७४४ वटा निवेदन दर्ता भएका छन्।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बैंक तथा वालेटका कर्मचारी बनेर खातामा पहुँच पुर्याउने, गिफ्ट, लोट्री वा पार्सलको प्रलोभन देखाउने, प्रेम सम्बन्धमा पारेर रकम ठगी गर्ने, वैदेशिक रोजगारीको प्रलोभन दिने तथा टेलिग्राम, ह्वाट्सएप र इन्स्टाग्राममा अनलाइन जबको नाममा ठगी गर्ने प्रवृत्ति बढेको छ। अनलाइन सपिङमार्फत हुने ठगी पनि बढ्दो क्रममा छ।
प्रविधिको दुरुपयोगसँगै अपराधका शैली फेरिँदै गएपछि यसको रोकथाम र अनुसन्धानका लागि प्रहरीको साइबर ब्यूरोले काम गर्दै आएको छ।
साइबर अपराधमा संलग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारबाही हुने गरेको छ। प्रविधिको तीव्र विकाससँगै अपराधका नयाँ शैली थपिँदै जाँदा कारबाहीसँगै नागरिकमा डिजिटल सचेतना र सुरक्षा अभ्यास पनि उत्तिकै आवश्यक देखिएको प्रहरी अधिकारीहरु बताउँछन्।