काठमाडौं। भारतको सेन्ट्रल मोटर भेहिकल रुल्स टेक्निकल स्ट्याण्डिङ कमिटीका अध्यक्ष डा. बलराज भनोटले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग तीव्र रुपमा बढ्दै गएकाले ब्याट्री व्यवस्थापनको स्पष्ट नीति बनाउन नेपाललाई सुजाव दिएका छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले शुक्रबार गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ संवाद कार्यक्रममा उनले पुराना ब्याट्री संकलन र पुनः प्रयोगबारे कानुनी व्यवस्था गर्नुपर्ने बताएका हुन्।
उनले लिथियम ब्याट्रीको आयु सामान्यतया ८ देखि १० वर्ष हुने भएकाले स्पष्ट नीति बनाउनका लागि नेपाललाई अहिले पूर्व तयारी गर्ने अवसर रहेको बताए।
उनले ब्याट्री व्यवस्थापनका लागि सरकारलाई ‘विस्तारित उत्पादक उत्तरदायित्व (ईपीआर) नीति लागू गर्न सुझाव दिए। ‘लिथियम ब्याट्रीको आयु सामान्यतया ८ देखि १० वर्ष हुन्छ। त्यसैले सरकारले अहिलेदेखि नै स्पष्ट नीति बनाउनु थाल्नुपर्छ। यो पूर्वतयारी गर्ने उपयुक्त अवसर हो,’ उनले भने।
भनोटले सवारीसाधन वा ब्याट्री आयातकर्ता, बिक्रेता र डिलरलाई नै संकलन गर्ने जिम्मेवारी दिनुपर्ने बताए। उनले ग्राहकले नयाँ ब्याट्री किन्दा पुरानो ब्याट्री बुझाउनुपर्ने बाध्यकारी व्यवस्था गर्न सुझाव दिए।
‘संकलित ब्याट्रीलाई अनिवार्य रूपमा सूचीकृत रिसाइक्लिङ प्लान्टमा मात्र पठाउनुपर्छ। यदि नेपालमै रिसाइक्लिङ प्लान्ट स्थापना गर्न पर्याप्त ब्याट्री नभए भारत वा चीनका प्लान्टसँग सहकार्य गरी निर्यात गर्ने बाटो खोल्नुपर्छ,’ उनले भने।
भनोटले भारतमा ३० करोड सवारीमध्ये व्यावसायिक सवारीसाधनका लागि वार्षिक ‘फिटनेस सर्टिफिकेट’ अनिवार्य गरिएको र ५०० भन्दा बढी अटोमेटेड टेस्टिङ सेन्टरमार्फत सवारीसाधनको अवस्था जाँच्ने गरिएको भन्दै नेपाललाई निश्चित मापदण्डका आधारमा पुराना सवारीलाई ‘जीवन अन्त्य’ घोषणा गर्ने र स्क्र्याप नीति लागू गर्ने संयन्त्र बनाउन सुझाव दिए।
उनले इन्धनमा इथानोल सुरुमा धेरै मिश्रण गर्न नहुने बताए। उनले भारतमा सन् २००६ मा ५ प्रतिशतबाट सुरु गरिएको इथानोल ब्लेन्डिङ सन् २०१० बाट १० प्रतिशत र हाल २० प्रतिशत पुर्याइएको जानकारी दिए।
तीव्र रूपमा इथानोलको मात्रा बढाउँदा पुराना सवारीसाधन र इन्धन आपूर्ति प्रणालीमा गम्भीर समस्या देखिएको उनको भनाइ छ। उनका अनुसार इन्धन चुहावट हुने, गाडी स्टार्ट हुन गाह्रो हुने र माइलेज ५ देखि ६ प्रतिशतसम्म घट्ने समस्या देखिएको छ।
उनले पुराना गाडीका इन्जिन र पार्टपुर्जा उच्च इथानोलयुक्त इन्धनका लागि उपयुक्त नहुने बताए।