काठमाडौं । पूर्व प्रहरी कर्मचारी र द्वन्द्वपीडित परिवारले काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल अस्पताल विराटनगरबाट विशेष सुविधा तथा छुट पाउने भएका छन्।
शुक्रबार दिउँसो पूर्व कर्मचारी परिषद् नेपाल र काठमाडौं मेडिकल कलेज (केएमसी) बाट स्वास्थ्य उपचार सहयोग प्रदान सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
द्वन्द्वपीडितका लागि निःशुल्क उपचार तथा भूतपूर्व प्रहरी र उनीहरूका परिवारका सदस्यलाई उपचार सेवामा ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको हो।

दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्ना भई उपचार गराउँदा अस्पतालले उपलब्ध गराउने अन्तरंग विभागका सबै सेवाको शुल्कमा शतप्रतिशत छुट दिइनेछ।
त्यस्तै द्वन्तपिडितमध्ये पाँच जनालाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपणको सेवा समेत दिइने सम्झौतामा उल्लेख गरिएको छ।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्ना भएर उपचार गराउँदा २५ प्रतिशत छुट र विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङमा उपचार गर्दा २० प्रतिशत छुट उपलब्ध हुने सम्झौतामा उल्लेख गरिएको छ। सम्झौता २०८४ असार महिनासम्म लागू हुनेछ।
सम्झौता अनुसारको छुट आइभिएफ, सिटिभीएस,कलेजो प्रत्यारोपण, क्याबिन बसाई, प्लास्टिक तथा कस्मेटिक सर्जरीमा भने उपलब्ध हुने छैन।
कार्यक्रममा काठमाडौं मेडिकल कलेजका संचालक सुनिल शर्मा, पूर्व प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, दीपक थापा, चन्द्र कुबेर खापुङ लगायतको उपस्थिति रहेको थियो।