काठमाडौं। सभामुख डीपी अर्यालले सभामुख अर्यालले निर्वाचनमा जनताले इतिहासमै पहिलोपटक एउटै पार्टीलाई ठूलो मत दिएको भन्दै सरकारलाई कुनै पनि बहानामा असफल हुने छुट नरहेको बताएका छन्।
उनले शुक्रबार नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औं साधारण सभाको उद्घाटनका क्रममा जनादेशको कदर गर्दै सरकारले काम गरेर देखाउनुपर्ने बताए।
‘मुलुक समृद्ध हुनैपर्छ। सुशासन कायम गर्दै भ्रष्टाचारलाई जरैदेखि उखेल्नुपर्छ। जनताले इतिहासमै ठूलो मत दिएका छन्। उनीहरुको आशा अनुसार काम गर्नुपर्छ। सरकारलाई असफल हुने छुट छैन,’ उनले भने।
कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल पनि उपस्थित थिए।
सभामुख अर्यालले व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राख्न आग्रह गरेका छन्। ‘यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौं। पर्यटन क्षेत्रको विकास, व्यवसाय प्रवर्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौं,’ उनले भने।
सभामुख अर्यालले पर्यटकका लागि सुरक्षा सबैभन्दा महत्वपूर्ण हुने भन्दै हवाइजहाज, ट्याक्सी, होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा पर्यटकले सुरक्षित महसुस गर्ने वातावरण बनाउनुपर्ने बताए। उनले काठमाडौं उपत्यकामा व्यवस्थित पर्यटक बसपार्ककव आवश्यकता औंल्याए।
उनले नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन संरचनागत सुधार आवश्यक रहेको पनि बताए। ‘नेपाल एयरलाइन्स बन्छ, तर अहिलेकै संरचनाले बन्दैन,’ उनले भने। उनले देशको पर्यटन क्षेत्रको विकासका लागि नेपाललाई युरोपेली संघको एयर सेफ्टी लिस्टबाट यथाशीघ्र हटाउन आवश्यक रहेको बताए।