काठमाडौं। १० महिना अगाडि, नोभेम्बरमा नेपालबाट हुन्डाईको टिम, मिडिया तथा इन्फ्लुएन्सरहरुको जम्बो टोली दिल्ली हुँदै गोवा पुगेको थियो। यो भ्रमण हुन्डाई इन्डिया र लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोजना गरेका थिए। तर, यो यात्रा सामान्य भ्रमण मात्रै थिएन – मुख्य उद्देश्य थियो, हुन्डाईको नयाँ भेन्यु फेसलिफ्टलाई नजिकबाट बुझ्नु र गोवाको सडकमा यसको पहिलो ड्राइभ गर्नु।
दिल्लीबाट गोवा पुग्दा हाम्रो टिमलाई नयाँ भेन्युले पर्खिरहेको थियो। नयाँ भेन्यु कस्तो होला भन्ने कौतुहल हामी सबैमा थियो। तर, समय भने निकै सीमित थियो।
गोवा पुगेको पहिलो दिन नै हामीले त्यहाँका चर्च, समुद्री किनारा, पुरानो सहर र पोर्चुगिज शैलीका बस्तीहरू नियाल्ने मौका पायौं।
गोवाका ती चर्चहरु, जुन बलिउडका चलचित्रमा समेत पटक-पटक देखिन्छन्, आफ्नै इतिहास बोकेर उभिएका छन्। समुद्र किनारमा पुग्दा छालसँगै पानीजहाज र टाढा देखिने क्यासिनोको दृश्यले गोवाको छुट्टै पहिचान देखाउँथ्यो। पुराना भवन, साँघुरा गल्ली र घुमाउरा सडक हुँदै हामी अर्को गन्तव्यतर्फ लाग्यौं।
त्यसपछि होटल सिफ्ट हुने समय आयो। होटलको नामभन्दा पनि गेटमै देखिएको ठुलो ‘डब्लु’ ले मेरो ध्यान तान्यो। ठुलो डब्लुमुनि पैसा लुकाइएको दृश्य देखाइने ‘गोलमाल’ फिल्मको एउटा दृश्य अचानक सम्झना आयो।
तर, त्योभन्दा पनि रोचक दृश्य होटलको गेटअगाडि हाम्रो प्रतीक्षामा थियो – नयाँ हुन्डाई भेन्यु फेसलिफ्ट।

पहिलो नजरमै मैले साथीलाई भने, यो त क्रेटा जस्तै देखियो त !
कारण पनि थियो। नयाँ भेन्युमा डिजाइनमा ठूलो परिवर्तन गरिएको थियो। विशेषगरी अगाडिको फेसलाई पहिलेको भेन्युको तुलनामा पूर्ण रूपमा रिडिजाइन गरिएको थियो।
नयाँ डिजाइनले भेन्युलाई पहिलेभन्दा बढी बल्की, चौडा र मस्कुलर देखाएको थियो।

त्यो दिन परिचय, आराम र डिनरमै बित्यो। राति समुद्री किनारमा केही समय बिताएपछि भोलिपल्टको प्रतीक्षा सुरु भयो। किनकि बिहान ८ बजेदेखि हाम्रो मुख्य कार्यक्रम थियो – नयाँ भेन्यु फेसलिफ्टको पहिलो ड्राइभ।
नेपालबाट भारतको गोवा। अगाडि अरब सागर, छेउमा सयौं वर्ष पुराना चर्च, वरिपरि पोर्चुगिज शैलीका बस्ती र बीचमा घुमाउरा सडक।
यस्तो लोकेसनमा नयाँ भेन्युको पहिलो ड्राइभ गर्नु आफैंमा एउटा अनुभव थियो।

स्टेरिङ समातेपछि सबैभन्दा पहिले ध्यान तान्ने कुरा यसको डिजाइन नै हो। पहिलेको भेन्युको तुलनामा नयाँ भेन्यु अग्लो र फराकिलो देखिन्छ।
अगाडिको डार्क क्रोम ग्रिल, क्वाड–बिम एलईडी हेडल्याम्प, ट्विन–हर्न एलईडी डीआरएल र पछाडिको होराइजन एलईडी टेल ल्याम्पले यसको रोड प्रेजेन्सलाई अझ बलियो बनाएको महसुस हुन्छ।
गोवाको सडकमा चलाउँदै गर्दा समुद्री हावासँगै भेन्युको नयाँ डिजाइनले छुट्टै ध्यान खिचिरहेको थियो। पुरानो भेन्युको परिचित सिल्हुटलाई कायम राख्दै नयाँ पुस्ताको डिजाइन ल्याउने प्रयास स्पष्ट देखिन्थ्यो।

तर, भेन्यु फेसलिफ्टको परिवर्तन बाहिरी डिजाइनमा मात्र सीमित छैन। नयाँ भेन्युमा डिजाइन, इन्टेरियर, प्रविधि र ड्राइभिङ एक्सपेरियन्समा समेत उल्लेख्य अपडेट गरिएको छ।
गोवाको सडकमा चलाउँदै गर्दा गाडीभन्दा पनि पहिले यसको डिजाइनले ध्यान तान्छ। पहिलेको भेन्यु भन्दा अग्लो र फराकिलो बनेको छ नयाँ भेन्यु। डार्क क्रोम ग्रिल, क्वाड-बिम एलईडी हेडल्याम्पहरु, ट्वीन-हर्न एलईडी डीआरएलस् र पछाडिको होराइजन एलईडी टेल ल्याम्पहरुले यसको रोड प्रेजेन्सलाई अझ बलियो बनाएका देखिन्छ।

गोवाको समुद्रको किनारमा भेन्यु
गोवाको समुद्री किनारतर्फ पुग्दा नयाँ भेन्युको नयाँ डिजाइन अझ राम्रोसँग देखिन्छ। खुला आकाश, समुद्रको निलो पृष्ठभूमि र अग्लो स्ट्यान्स भएको भेन्यु फोटोका लागि मात्र होइन, वास्तविक सडकमा पनि यो पहिलेको भन्दा बढी इम्पोजिङ देखिन्छ। झट्ट हेर्दा क्रेटा भन्दा राम्रो भएर आएको छ।
तर यो ड्राइभ केवल फोटो खिच्ने यात्रा थिएन। साँघुरा लोकल सडकमा हर्न बजाउदै खुला कोस्टल रोडसम्म ड्राइभ गर्दा यसको कम्प्याक्ट एसयुभीको फिल दिन्छ। यसको ३९९९ एमएम लम्बाइ र १८०० एमएम चौडाइका कारण शहरमा चलाउन धेरै ठुलो महसुस हुँदैन, तर पहिलेभन्दा अग्लो र फराकिलो बडी फ्रेमले सडकमा प्रेजेन्स भने बढाएको छ।

भेन्युसँग पुरानो गोवा पुग्दा बदलिन्छ दृश्य
समुद्रको किनार छोडेर पुरानो गोवातर्फ लाग्दा दृश्य फेरिन्छ। आधुनिक शहरबाट ऐतिहासिक गोवातर्फ प्रवेश गर्दा पुराना चर्च, पोर्चुगिज शैलीका संरचना र समुन्द्री साइडमा ठुला पानि जहाज त्यसमा पनि क्यासिनोको दृश्यले रोड ट्रिपभन्दा बढी एउटा कल्चरल ड्राइभ बनाइदिन्छ।
यही क्रममा भेन्युको क्याबिन पनि ध्यान खिच्ने पक्ष हो। नयाँ भेन्युमा एच-आर्किटेक्चरबाट प्रेरित ड्यासबोर्ड राखिएको छ। यसमा १२.३ इन्चको कर्भ डुअल प्यानारोमिक डिस्प्ले, डी-कट स्टाइलको स्टेरिङ ह्वील र एम्बिएन्ट लाइटिङसहितको नयाँ क्याबिन लेआउट छ। अगाडिको दुईवटा ठूलो स्क्रिनले ड्यासबोर्डलाई निकै आधुनिक बनाएको छ।
ड्राइभको अर्को रमाइलो हिस्सा थियो- नयाँ शैलीको आर्क ब्रिज पार गर्दै समुन्द्री सतहको दृश्यमा रमाउनु।
ब्रिजमाथिबाट देखिने हरियाली, तलको समुन्द्रीको पानी र अगाडि बढिरहेको भेन्युले यो हाम्रो ड्राइभलाई सामान्य मिडिया टेस्ट ड्राइभभन्दा फरक बनाइदिन्छ। गाडीको कम्प्याक्ट फुटप्रिन्टले साँघुरा र घुमाउरा सडकमा ड्राइभ सजिलो बनाउँछ भने स्टेरिङ र अटोमेटिक ट्रान्समिसन भएको संस्करणमा झन राम्रो छ।

विशेषगरी १.० लिटर टर्बो पेट्रोल इन्जिनमा १२० पीएस पावर र १७२ एनएम टर्क उपलब्ध छ, जसले हाइवे तथा ओभरटेकिङमा आवश्यक पावर दिन्छ। यसबाहेक १.२ लिटर पेट्रोल र १.५ लिटर डिजल विकल्प पनि उपलब्ध छन्। टर्बो पेट्रोलमा म्यानुअल, अटोमेटिक र ७ स्पिड डीसीटी विकल्प दिइएको छ।
गोवाको लामो ड्राइभमा भेन्टिलेटेड फ्रन्ट सिट, एसी जस्ता फिचरले यात्रालाई थप आरामदायी बनायो। भोइस कन्ट्रोल सिस्टमले पनि झन सजिलो बनायो। त्यसमा पनि सन रुफ भोइस कन्ट्रोल बाटै खुल्छ।
ड्राइभ गर्दा सबैभन्दा महत्वपूर्ण कुरा मानिने सेफ्टीमा पनि भेन्युमा राम्रो वर्क आउट गरिएको छ।

भेन्युको हाइ भेरियन्टमा स्मार्टसेन्स लेभल ई एडासमा १६ वटा सेफ्टी फिचर छन्। जसले हाइवे ड्राइभमा थप कन्फिडेन्स दिन्छ। साथै ६ वटा एयरब्याग, अटो होल्ड, जस्ता फिचरले पनि राम्रो बनाएको छ। यसमा ६५ भन्दा बढी सेफ्टी फिचर रहेछन्।
त्यो दिन गोवाका सडकमा बिताएका केही घण्टा वास्तवमै एउटा कार ड्राइभभन्दा बढी थिए। गोवाको त्यो पहिलो ड्राइभले एउटा कुरा भने प्रस्ट देखाएको थियो। हुन्डाईले भेन्युलाई केवल फेसलिफ्ट गरेको थिएन, यसलाई पहिलेभन्दा अझ ठूलो, बोल्ड र प्रिमियम देखिने बनाउने प्रयास गरेको थियो।

नेपालबाट भारतको गोवा। अगाडि अरब सागर, छेउमा पुराना चर्च, बीचमा पोर्चुगिज शैलीका बस्ती र घुमाउरा सडक। यस्तो ठाउँमा भेन्यु फेसलिफ्टको पहिलो ड्राइभ गर्न पाउनु आफैंमा एउटा अनुभव हो।

समुद्र, चर्च, पुरानो शहर र पोर्चुगिज बस्तीबीच नयाँ भेन्युलाई चलाउँदा एउटा प्रश्न भने लगातार मनमा आइरहेको थियो-नेपालको सडक र ग्राहकको स्वादमा यो नयाँ भेन्युले कस्तो प्रभाव पार्ला?
यसपटकको नाइमा मोबिलिटी एक्स्पोबाट नेपालमा एसेम्बल भएको यो नयाँ भेन्यु सार्वजनिक भएको छ। अब यसको वास्तविक परीक्षा काठमाडौंका ट्राफिक, साँघुरा सडक, उकालो–ओरालो र हाइवेमा हुनेछ। त्यो एक्सपेरियन्स पनि हामी बिजमाण्डूबाट देखाउने नै छौं, प्रतिक्षा गर्नुहोस्।