BIZMANDU
www.bizmandu.com

‘पहिला स्ट्रिमिङमै आएर मत मागे, अहिले आपत पर्दा गुमनाम’: बालेनसँग पब्जी खेलाडी किन रिसाए?

२०८३ साउन २९

‘पहिला स्ट्रिमिङमै आएर मत मागे, अहिले आपत पर्दा गुमनाम’: बालेनसँग पब्जी खेलाडी किन रिसाए?
‘पहिला स्ट्रिमिङमै आएर मत मागे, अहिले आपत पर्दा गुमनाम’: बालेनसँग पब्जी खेलाडी किन रिसाए?


काठमाडौं। ‘एघार हजार जनाले हेरिरहनु भएको छ।केही भनेर जानु न त।’ – ‘को सक्षम छ, को योग्य छ, कसले काम गर्न सक्छ? कसको भिजन क्लियर छ? को निष्पक्ष छ? त्यस्तो मान्छे छान्नु होला। मेरो चुनाव चिह्न चाहिँ लौरो हो,’ चार वर्षअघि र्‍यापर तथा पब्जी प्लेयर बालेनको जवाफ थियो यो।

Tata
GBIME

माथिको संवाद हो सीआर सेभेन होरा भनेर चिनिने सञ्जन गौतमको स्ट्रिमको। काठमाडौंको मेयर बन्नुअघि बालेन्द्र शाह(बालेन) होराको स्ट्रिममा आएर पब्जी खेल्थे।

‘केही भन्न चाहनु हुन्छ?’भनेर सीआर सेभेन सोध्छन। चुनावको प्रचारमा होमिएका बालेन त्यो मौकाको फाइदा उठाउँछन्, भोट माग्छन्।

चार वर्ष बित्यो। सीआर सेभेन नेपाली इ-स्पोर्स्टमा अझै चर्चित नाम। अनि उनीसँग बोलेका बालेन बागदरबारको सिंहासनबाट सिंहदरबार सम्हाल्न पुगेका छन्।

यही साउन २६ गते उनै सीआर सेभेन फेरि स्ट्रिममा थिए। तर, फरक रुपमा। उनी आफ्ना साथी र बहालवाला प्रधानमन्त्री बालेनको आलोचना गरिरहेको सुनियो भिडियोमा।

पब्जी मोबाइल वर्ल्डकपको ‘वाचपार्टी’ गर्दैगर्दा बालेनसँगै उनको निशानामा परे शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल पनि।

‘बालेन दाइ पनि मसँग पब्जी खेल्नु भएको हो। खेल्दाखेरी इस्पोर्टसमा यति बजेट छुट्याएका छौं भन्नु भएको थियो। आउँदै होला बजेट पनि,’ उनले भने, ‘अहिलेको सिनमा जो मान्छेले यो मिलाउनु पर्ने हो उसले त अगाडि आएर बोल्नु पर्ने हो नि। नेपालको झण्डा फर्फराउँछु भन्ने खेलाडीले किन खेल्न पाएन? किन खेल्न पाएन? बोल्दिनु त पर्‍यो नि।’

प्रधानमन्त्री बालेन र उनका नजिकका सस्मितको आलोचना गर्नेमा अहिले सिआर सेभेनमात्रै छैनन्। इ-स्पोर्टसमा संलग्न अधिकांश बालेनमाथि टिकाटिप्पणी गरिरहेका छन्। किनकि कुनैबेला बालेन उनीहरूसँगै खेल्थे।

पब्जीका चर्चित कास्टर अंश वाइटी भनेर चिनिने विशाल पराजुलीदेखि इस्पोर्टको वृत्तका खेलाडी र स्ट्रिमरहरुको दिनचर्या जस्तै बनेको छ माथिको जस्तै परिदृश्य।

इ-स्पोर्टस कम्युनिटीमा कुनैबेला निकै लोकप्रिय बालेन अहिले किन यसरी आलोचित भइरहेका छन्?

यसको सिधा जवाफ सोझिन्छ ‍एसियन गेम्समा। एसियन गेम्समा छनोट भएर पनि खेल्न नपाएपछि इ-स्पोर्ट कम्युनिटी अहिले आक्रोशित छ।

बालेनले सोझै हस्तक्षेप गरेर सुल्झाउन सक्ने कुरामा पनि चुप बसेको उनीहरुको बुझाइ छ। स्ट्रिमिङमा आएर भोट मागेका बालेन अहिले कहाँ छन् भन्ने प्रश्न उनीहरुले गरिरहेका छन्।

चर्को आलोचनापछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनदेखि गृहमन्त्री सुधन गुरुङसमेतले कास्टर र खेलाडीलाई सम्पर्क गर्दै थामथुम पार्न खोजेका छन्। बेन पनि पब्जी खेल्ने बालेन टोलीको क्लोज सर्कलकै व्यक्ति हुन्। मेयर हुँदा बालेनले पब्जी खेलाडीलाई प्रोत्साहित नै गरेका थिए।

अवस्था बिग्रिने देखिएपछि शुक्रबार खेलकुद मन्त्री सस्मित पोखरेलले आक्रोशित युवाहरुलाई भेट्न बोलाए। बिहीबार साँझ खेलाडी र सस्मितबीच भेट पनि भयो। तर, राखेपको बोर्ड बैठककै सेरोफेरोबीचको छोटो छलफलबाट केही निष्कर्ष निस्किएन। अर्को छलफल सोमबारलाई हुने भनिएको छ।

भएको के हो ?

जापानमा हुने २०औँ एसियन गेम्समा नेपालले २२ खेलबाट सहभागिता जनाउँदैछ। एसियन गेम्समा मेहनतले भिडेर छनोट भएको खेलमा पर्छ इ-स्पोर्ट। तर, इ-स्पोर्टस नै जापान नजाने भएको छ। एसियाडमा छनोट भएर देश फर्किएपछि मात्रै खेलाडीले थाहा पाएका जान नपाउने विषय।

कसको कारणले? यसको जवाफ खोजी भइरहेको छ इ-स्पोर्ट्समा। त्यसैले आक्रोश खेलकुद मन्त्री देखि प्रधानमन्त्रीसम्मै पुगेको छ।

देशका लागि खेल्न खोज्दा देशभित्रकै कारणले खेल्न नपाउने स्थिति आउनुको कारण यति चाहिँ स्पष्ट छ- खेलकुदमा हुने फोहोरी राजनीति।

सिधा शब्दमा भन्दा नेपालमा इ-स्पोर्टस्का लागि दुईवटा संघ छन्। एउटा राष्ट्रिय अधिकारप्राप्त र अर्को अन्तर्राष्ट्रिय अधिकारप्राप्त। यी संघले आफ्नो भन्दा फरक लाइनका प्रतियोगितामा ताला लगाउनेसम्म काम गरिसकेको तर खेलाडी र खेल बुझ्ने प्रयास नगरेको खेलाडी बताउँछन्।

यी दुई संघमध्ये अन्तर्राष्ट्रिय मान्यता पाएको नेपाल इस्पोर्टस एसोसिएसन (नेसा) ले बुधबार विज्ञप्ति निकाल्दै दोष सरकारतर्फ खन्याइदिएको छ।

उसै पनि नेपालको एसियन गेम्समा मेडल निकै दुर्लभ छ। ठूला खेलकुदमा वाइल्डकार्डबाट पुग्ने खेलको दबदबाबीच भिडेर पुगेका खेलाडीको सहभागिता नहुने भएको छ।

एसियाडमा सहभागी खेलहरु

बचाउमा राखेप

शिक्षा तथा खेलकुद मन्त्रीसँगै प्रधानमन्त्रीको पनि चर्को आलोचना भएपछि राष्ट्रिय खेलकुद परिषद बचाउमा उत्रिएको छ। भियतनाममा सम्पन्न एसियन गेम्स छनोट पार गरेर पनि जापानमा हुने एसियन गेम्समा छनोट हुन नपाएको इस्पोर्टको विवाद चर्किएपछि राखेप बचाउमा उत्रिएको हो।

संघको लफडाले इ-स्पोर्टस सहभागीता नहुने स्थितिसम्म पुग्दा समेत बालेन र सस्मितले केही गर्न नसकेकाले इ-स्पोर्टस वृत्त सरकारसँग रुष्ट छ।

राखेपले संघहरुको समन्वय नपुग्दा एसियाडमा सहभागिता हुन नसकेको स्पस्ट पारेको छ। तर, यसमा आफ्नो भूमिका नै नभएजस्तो गरी प्रस्तुत भएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले नेपाल ओलम्पिक कमिटीमार्फत नेपालका तर्फबाट सहभागिताका लागि प्रारम्भिक नामावली (लङलिस्ट) पठाउँदा परिषदमा आधिकारिक रूपमा दर्ता रहेको इसानको समन्वयमा ई-स्पोर्टका खेलाडीहरूको नामावली समावेश गरेको र बीचमा ई-स्पोर्टको अर्को संघ नेसानसँग पनि समन्वय गर्न पत्रचार गरेको दाबी गरेको छ।

राखेपले समान्यव गर्न खोज्दा नेसा तत्काल परिषद्को सम्पर्कमा नआएको जनाएको छ।

यसै बीच लङलिस्टमा समावेश भएका खेलाडीहरू अन्तिम नामावली आयोजक राष्ट्रले निर्धारण गरेको समयभित्र नेपाल ओलम्पिक कमिटीमार्फत संघबाट सिफारिस भए अनुसार नै १२ जना खेलाडीसहित १५ जनाको सहभागिताका लागि सिफारिस गरिएको जनाएको छ।

‘परिषदमा आधिकारिक रूपमा दर्ता रहेको इशानले आफूले सिफारिस गरेका खेलाडीहरू छनोट हुन नसकेको भन्दै इ-स्पोर्टका खेलाडीहरू २०औँ एसियाली खेलकुदमा सहभागी हुन नसक्ने भनी पत्राचार गरेको हुँदा परिषद्बाट संघबाट भएको पत्रानुसार नै २०औँ एसियाली खेलकुदमा ई-स्पोर्ट्स खेलको सहभागिता नहुने निर्णय भएको हुँदा इ-स्पोर्ट्स खेलका खेलाडीहरू सहभागी हुन नसकेको व्यहोरा सर्वसाधारण सम्पूर्णमा जानकारी गराउँदछौँ,’ परिषदले भनेको छ।

परिषद्ले समन्वयका लागि गरेको अनुरोधलाई निर्धारित समयसम्म नेसाले बेवास्ता गरेको तर समय सकिएपछि आफ्ना खेलाडीहरू छनोट भएको भन्दै सहभागी हुन पाउनुपर्ने दाबी गरेको जनाएको छ।

‘प्रतियोगिताका लागि दर्ता गरिएको खेलाडीहरूको लङलिस्टमा नै समावेश नभएका खेलाडीहरू छनोट भएको दाबीलाई परिषद्ले कार्यान्वयन गर्न असमर्थ रहेको हो,’ परिषदले भनेको छ।

तर, परिषदले छनोट भइसकेका खेलाडीलाई एसियाड खेल्ने वातावरण किन बनाएन स्पष्ट पारेको छैन।

नेसाले बिहीबार नै विज्ञप्ति निकाल्दै सरकारको निर्णयका कारण खेलाडीको सहभागिता हुन नसकेको प्रष्ट पारिसकेको छ। इशानले पनि नेसातिर लक्षित गर्दै खेल प्रशासन तथा अन्तर्राष्ट्रिय खेल संस्थालाई समेत गुमराहमा राख्ने काम भएको दाबी गरेको छ।

‘खेलकुदको नियमन तथा व्यवस्थापनको अधिकार क्षेत्रमा नरहेको कुनै पनि कम्पनी वा संस्थाले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने नाममा भ्रम सिर्जना गर्नु गम्भीर विषय हो,’ इशानको विज्ञप्तिमा भनिएको छ।

एसियन गेम्स खेल्न नपाएको नेपालको आशलाग्दो पक्षहरु पनि छन्। नेपालकै ‘होरा स्पोर्ट्स’का केही खेलाडीले भने पब्जी विश्वकपको फाइनल्समा पुगिसकेका छन्। विश्वकपमा धमाका गर्न सक्ने खेलाडीले एसियन गेम्समा दुर्लभ मानिने मेडल ल्याउन सक्थेनन् होला त?

सरकारले जवाफ दिन बाँकी छ। ‘बोल्न दे सरकार’ भन्ने बालेनसँग प्रश्न गरिरहेका खेलाडीले जवाफ पाउँलान् त?