काठमाडौं। सवारीसाधन खरिदका लागि ग्राहकमा ‘कन्फिडेन्स’ बढेको देखिएको छ। नाइमा मोबिलिटी एक्स्पोमा सवारीसाधनका स्टलमा देखिएको घुइँचोले ग्राहकमा ‘कन्फिडेन्स’ बढेको देखिएको हो।
काठमाडौंको भृकुटीमण्डपमा मंगलबार सुरु भएको एक्स्पो पहिलो दिन २९ हजार भन्दा बढीले अवलोकन गरेकामा दोस्रो दिन पनि २६ हजार भन्दा बढीले नयाँ ब्राण्ड र मोडलका सवारीसाधनबारे सोधीखोजी गरे।
तेस्रो दिन बिहीबार पनि एक्स्पोमा अवलोकनकर्ताको उस्तै घुइँचो छ। सवारीसाधनको फिचर र मूल्यबारे सोधीखोजी गर्नेमध्ये कतिपय अवलोकनकर्ताले बुकिङ समेत गरेको व्यवसायीहरुले बताएका छन्।
बैंकको सस्तो ब्याजदर, आयकरको सीमामा वृद्धि, धेरै फिचरका सवारीसाधन सस्तो मूल्यमा उपलब्ध हुनु लगायत कारण एक्स्पोमा सोधीखोजी गर्ने ग्राहक बढेको भन्दै अटो व्यवसायीहरु उत्साही भएका छन्।

नाइमाका संस्थापक आकाश गोल्छाले पछिल्लो समय बैंकको ब्याजदरले ग्राहकलाई सवारीसाधन खरिदमा ठूलो राहत दिएको बताए।
‘अहिले बैंकहरुले एकदम कम ब्याजदरमा गाडी किन्न लोन दिइरहेका छन्। क्यासमा गाडी खरिद गर्ने परिपाटी छैन। मानिसहरुले तलब आएपछि किस्ता तिर्ने हो,’ गोल्छाले भने, ‘सरकारले आयकरको सीमा बढाइदिएका कारण पनि गाडी र बाइक किन्न चाहनेहरु बढेका हुन्।’

लगानीयोग्य रकम थुप्रिएका कारण बैंकहरुले अहिले इतिहासकै सस्तो ब्याजदरमा कर्जा दिइरहेका छन्। बैंकहरुले नाइमा मोबिलिटी एक्स्पोका लागि नै भनेर नयाँ नयाँ अफर समेत ल्याएका छन्।
कतिपय बैंकले न बेसरेटमा प्रिमियम नै नथपि अटो लोन दिइरहेका छन्। प्रिमियम थपेका बैंकमा अहिले ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन पाइन्छ। ब्याजदर सस्तो हुँदा मासिक किस्ता कम हुन्छ। कतिपय बैंकले ७ वर्षसम्मका लागि फिक्स्ड ब्याजदरमा कर्जा उपलब्ध गराइरहेका छन्।

चालु आर्थिक वर्षदेखि व्यक्तिगत आयकरको सीमा ६ लाखबाट बढाएर १० लाख रुपैयाँ पुर्याइएको छ। आयकरको सीमामा भएको हेरफेरले मध्यमवर्गीय ग्राहकलाई सवारीसाधन खरिद गर्ने निर्णय लिन सहज भएको व्यवसायीहरुको बुझाइ छ।
आफूहरुले उपलब्ध गराएको छुट, नगद डिस्काउन्ट, एक्सचेन्ज बोनसमा सस्तो ब्याजदर र व्यक्तिगत आयकरको सीमा वृद्धिले सवारीसाधनको व्यापार बढाउन थप टेवा पुगेको व्यवसायीहरुको भनाइ छ। एउटै व्यावसायिक घरानाले एकैदिनमा १५० युनिटसम्म सवारीसाधन बुकिङ भएको दाबी गरेका छन्।
एक्स्पोमा पुगेका ग्राहकहरुले सवारीसाधनको फिचर र मूल्यका अलावा छुटका अफरबारे चासो राख्ने गरेका छन्। ‘धेरै ग्राहकले नयाँ मोडलका सवारीमा विशेष अफर के छ भनेर सोधिरहेका छन्,’ एक व्यवसायीले भने, ‘छुट सुविधाका लागि ग्राहकमा अटो एक्स्पो कुरेर बस्ने प्रवृत्ति छ। हामीले छुट अफर सार्वजनिक गरेका छौं। तै पनि उहाँहरुले सवारीको फिचरसँगै अफरमा के के समावेश छ भनेर सोध्नुहुन्छ।’

एक्स्पोमा स्टल राखेका अटो व्यवसायीले धेरै गाडीमा २ लाख रुपैयाँसम्म छुट दिएका छन्। यस्तै केही विक्रेताले बीमा नि:शुल्क गरेका छन्। केहीले ठूला गाडीमा ग्राहकलाई ६ लाखसम्म फाइदा हुने अफर ल्याएका छन्।
एक्स्पोमा सस्तो मूल्यमा धेरै फिचर भएका इभी राखिएका छन् जसले ग्राहकको ध्यान तानेको छ। ३० देखि ४० लाखको रेन्जका गाडीका स्टलमा बढी घुइँचो लागेको छ। यो सेगमेन्टमा कोमेट, वुलिङ मिनि, टाटा टियागो इभी, पन्च इभी, बीवाइडी एटो १, चेरीको क्यूक्यू३ जस्ता गाडी छन्।

त्यो भन्दा माथिको मूल्यका सवारीसाधन किन्ने चाहनेहरुमध्ये अधिकांश आफूसँग भएका पुराना गाडी एक्सचेन्ज हुन्छ कि हुँदैन भनेर सोध्नेहरु धेरै रहेको व्यवसायीहरुको भनाइ छ।
बैंकको सस्तो कर्जा, ग्राहकको बढैको कन्फिडेन्स र एक्स्पो केन्द्रित अफरको संयोजनले अहिले सवारीसाधन बजारलाई चलायमान बनाउन सहयोग गरेको छ।
नाइमा मोबिलिटी एक्स्पोका संयोजक गौरव शारडाले आर्थिक गतिविधि सुस्त रहेका बेला सवारीसाधन खरिदका लागि ग्राहकको उत्साहजनक चासो बजारका लागि धेरै नै सकारात्मक भएको बताए।

‘अहिलेको ट्रेन्ड हेर्ने हो भने सस्तो गाडीतिर ग्राहक झुम्मिएका छन्। यो सेगमेन्ट इन्ट्री लेभलका गाडीको हो। पहिले गाडी किन्ने निर्णय पोस्टपन्ड गरेकाहरु अहिले एक्स्पोमा आएका छन्। एक्स्पोमा भिजिटर मात्रै धेरै आएका होइनन्, बुकिङ पनि राम्रो छ,’ शारडाले भने, ‘यसरी ग्राहकले सवारीसाधन खरिदका लागि इन्ट्रेस्ट देखाउनु बजारका लागि धेरै नै पोजेटिभ कुरा हो। अहिले ग्राहकको चासो बढ्नुको मुख्य कारण हो- बैंकहरुले पछिल्लो समय कम ब्याजदरमा अटो लोन दिनु हो। सबैजसो बैंकले ६ प्रतिशत भन्दा कम ब्याजदरमा सवारीसाधन खरिद गर्न ऋण दिइरहेका छन्।’

अर्का अटो व्यवसायी हेमन्त गोल्छा पनि एक्स्पोमा बुकिङबाट उत्साही छन्। ‘बजारमा धेरै कुराले पोजेटिभ माहोल बनेको छ। ग्राहकले अफरबारे बुझेर बुकिङ गरिरहनुभएको छ। हामी सन्तुष्ट छौं।’