काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रीसँगै प्रधानमन्त्रीको पनि चर्को आलोचना भएपछि राष्ट्रिय खेलकुद परिषद् बचाउमा उत्रिएको छ। भियतनाममा सम्पन्न एसियन गेम्स छनोट पार गरेर पनि जापानमा हुने एसियन गेम्समा छनोट हुन नपाएको इ-स्पोर्टसको विवाद चर्किएपछि राखेप बचाउमा उत्रिएको हो।
हाल नेपालमा इस्पोर्ट्समा दुईवटा खेल संघ छन्। एउटा संघ इस्पोर्ट्स संघ (इसान) र अर्को संघ नेपाल इस्पोर्टस संघ (नेसा) छन्। इसानसँग राष्ट्रिय मान्यता छ भने नेसासँग अन्तर्राष्ट्रिय मान्यता छन्। यी दुई संघको विवादकाबीच इस्पोर्टसले छनोट भएर पनि जापानमा हुने एसियन गेम्स गुमाएको हो।
प्रधानमन्त्री बालेन साह आफैं पब्जी खेल्ने र स्ट्रिमिङमा आउने व्यक्ति हुन्। उनी काठमाडौं महानगरको मेयर हुँदा पनि इस्पोर्टसको प्रचारमा सकारात्मक हिसाबले लागेका थिए। तर, उनी प्रधानमन्त्री भएपछि सकारकारका प्रवक्तासमेत रहेका सस्मित पोखरेलले संघको लफडाले इस्पोर्टस सहभागिता नहुने स्थितिसम्म पुग्दा केही गर्न नसककाले इ-स्पोर्टस् वृत्त अहिले सरकारसँग रुष्ट छ।
यस्तोमा नेपाल सहभागी नहुने निश्चित भइसक्दा राखेप बचाउमा उत्रिएको छ। राखेपले संघहरुको समन्वय नपुग्दा एसियाडमा सहभागिता हुन नसकेको स्पष्ट पारेको छ। तर, यसमा आफ्नो भूमिका नभएको जस्तो गरी प्रस्तुत गरेको छ।
राखेपले नेपालका तर्फबाट सहभागिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले नेपाल ओलम्पिक कमिटीमार्फत प्रारम्भिक नामावली (लङलिस्ट) पठाउँदा परिषद्मा आधिकारिक रूपमा दर्ता रहेको इसानको समन्वयमा ई-स्पोर्टसका खेलाडीहरूको नामावली समावेश गरेको र बीचमा ई-स्पोर्टको अर्को संघ नेसानसँग पनि समन्वय गर्न पत्राचार गरेको दाबी गरेको छ।
राखेपले समन्वय गर्न खोज्दा नेशा तत्काल परिषद्को सम्पर्कमा नआएको जनाएको छ।
यसै बीच लङलिस्टमा समावेश भएका खेलाडीहरू अन्तिम नामावली आयोजक राष्ट्रले निर्धारण गरेको समयभित्र नेपाल ओलम्पिक कमिटीमार्फत संघबाट सिफारिस भए अनुसार नै १२ जना खेलाडीसहित १५ जनाको सहभागिताका लागि सिफारिस गरिएको जनाएको छ।
‘परिषद्मा आधिकारिक रूपमा दर्ता रहेको इशानले आफूले सिफारिस गरेका खेलाडीहरू छनोट हुन नसकेको भन्दै ई-स्पोर्टका खेलाडीहरू २०औँ एसियाली खेलकुदमा सहभागी हुन नसक्ने भनी पत्राचार गरेको हुँदा परिषद्बाट संघबाट भएको पत्रानुसार नै २०औँ एसियाली खेलकुदमा ई-स्पोर्ट्स खेलको सहभागिता नहुने निर्णय भएको हुँदा ई-स्पोर्ट्स खेलका खेलाडीहरू सहभागी हुन नसकेको व्यहोरा सर्वसाधारण सम्पूर्णमा जानकारी गराउँदछौँ,’ परिषदले भनेको छ।
परिषद्ले समन्वयका लागि गरेको अनुरोधलाई निर्धारित समयसम्म नेपाल नेशाले बेवास्ता गरेको तर समय सकिएपछि आफ्ना खेलाडीहरू छनोट भएको भन्दै सहभागी हुन पाउनुपर्ने दाबी गरेको जनाएको छ।
‘प्रतियोगिताका लागि दर्ता गरिएको खेलाडीहरूको लङलिस्टमा नै समावेश नभएका खेलाडीहरू छनोट भएको दाबीलाई परिषद्ले कार्यान्वयन गर्न असमर्थ रहेको हो,’ परिषद्ले भनेको छ।
तर, परिषद्ले छनोट भइसकेका खेलाडीलाई एसियाड खेल्ने वातावरण किन बनाएन स्पष्ट पारेको छैन।
नेशाले बिहीबार नै विज्ञप्ति निकाल्दै सरकारको निर्णयका कारण खेलाडीको सहभागिता हुन नसकेको प्रष्ट पारिसकेको छ।