BIZMANDU
www.bizmandu.com

शेरबहादुर देउवा साढे ५ महिनापछि फर्किए स्वदेश, विमानस्थलमा नेता कार्यकर्ताले गरे स्वागत

२०८३ साउन २८

शेरबहादुर देउवा साढे ५ महिनापछि फर्किए स्वदेश, विमानस्थलमा नेता कार्यकर्ताले गरे स्वागत
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा त्रिभुवन विमानस्थलमा। तस्वीर : रासस


काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्।

Tata
GBIME

पोहोर भदौमा भएको जेनजी आन्दोलनमा आफ्नै निवासमा घाइते भएका देउवा उपचारका लागि चुनावको मुखमा फागुन १३ गते राति सिंगापुर गएकामा साढे ५ महिनापछि बिहीबार अपराह्न फर्किएका हुन्।

देउवालाई कांग्रेसको संस्थापनइतर समूहले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेको छ। डा. शशांक कोइराला, विमलेन्द्र निधि, कृष्ण सिटौला लगायत नेता तथा ठूलो संख्यामा कार्यकर्ता विमानस्थल पुगेका थिए।

पछिल्लो समय फेरि कांग्रेसमा आधिकारिकता विवाद उत्कर्षमा छ। सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकताबारे फेरि सुनुवाइ गर्ने भएपछि देउवा पक्ष उत्साहित बनेको छ। त्यो उत्साह देउवा स्वदेश फर्किँदा विमानस्थलमा देखिएको छ।

सिंगापुरमा उपचार पछि देउवा र उनकी पत्नी डा. आरजु राणा हङकङमा बस्दै आएका थिए।

उनीहरु दुवै जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएकामा सर्वोच्च अदालतले पक्राउ नगर्न आदेश दिएको थियो।