काठमाडौं। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिनापछि आज स्वदेश फर्किदैंछन्। बिहीबार पौने १ बजे उनी चढेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने समय तालिका रहेको छ।
देउवा फर्किन लागेपछि बिहीबार विमानस्थल वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेपाली कांग्रेसका नेता कार्यकर्ता अहिले देउवालाई स्वागत गर्न विमानस्थलमा पुगेका छन्। ठूलो संख्यामा मानिस विमानस्थल पुग्न अनुमानका कारण पनि विमानस्थलको सुरक्षा कडा बनाइएको हो।

विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व गगन थापाले लिएपछि देउवा मौन रहँदै आएका थिए। फागुन २१ गतेको निर्वाचनमा समेत कांग्रेसको पक्षमा उनले सार्वनजिक रुपमा मत समेत मागेनन्। उनी त्यसअघि नै विदेश गएका थिए।
भदौ २३ गते भएको जेनजी विद्रोहमा देउवा र उनकी पत्नी आरजु राणा देउवा बुढानिलकण्ठस्थित आफ्नै निवासमा कुटिएका थिए। उनीहरुको निवासमा पनि जलाइएको थियो। घाइते देउवा दम्पती सेनाको रोहबरमा उपचारपछि थप उपचारका लागि कात्तिक १० गते सिंगापुर उडेका थिए। त्यहाँबाट उनीहरु कात्तिक २८ गते स्वदेश फर्केका थिए।


