काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वैज्ञानिक तथा बजारमा आधारित मूल्य निर्धारण प्रणाली विकास गर्ने गरी प्राथमिक पुँजी बजार सुधार नीति जारी गरेको छ।
सेबोनले मर्चेन्ट बैंकर तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिको समेत संलग्नतामा गठित कार्यदलको सुझावका आधारमा प्राथमिक पुँजी बजार सुधार नीति बुधबार जारी गरेको हो।
प्राथमिक पुँजी बजारलाई आधुनिक, प्रभावकारी तथा लगानीकर्तामैत्री बनाउँदै उद्योग, पूर्वाधार, नवप्रवर्तन, साना तथा मझौला उद्यम, हरित तथा दिगो विकास परियोजनाहरूका लागि दीर्घकालीन पुँजीको सहज उपलब्धता सुनिश्चित गर्ने तथा नियमन, सुशासन, पारदर्शिता र प्रविधिमा आधारित सार्वजनिक निष्कासन प्रणाली विकास गर्ने गरी नीति तयार पारेको सेबोनले जनाएको छ।
यो नीतिले प्राथमिक पुँजी बजारलाई आर्थिक विकासको प्रमुख वित्तीय स्रोतका रूपमा स्थापित गर्ने सेबोनको दाबी छ।
‘सार्वजनिक निष्कासन प्रक्रियालाई पूर्णतः पारदर्शी, डिजिटल तथा समयबद्ध बनाउने, वैज्ञानिक तथा बजारमा आधारित मूल्य निर्धारण प्रणाली कार्यान्वयन गर्ने, योग्य संस्थागत लगानीकर्ता तथा एङ्कर लगानीकर्ताको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने, सार्वजनिक निष्काशन पश्चात् प्राप्त पुँजीको प्रभावकारी उपयोग तथा अनुगमन प्रणाली विकास गर्ने, लगानीकर्ता संरक्षण तथा बजारप्रतिको विश्वास अभिवृद्धि गर्ने नीतिको लक्ष्य छ,’ सेबोनले भनेको छ।