काठमाडौं। सुनको भाउ २ महिनायताकै उच्च भएपछि नेपाली बजारमा गहनाको माग घटेको छ। भाउ बढेर प्रति तोला ३ लाख माथि पुगेका कारण गहनाको माग घटेको सुनचाँदी व्यवसायीहरुले बताएका छन्।
माग खुम्चिएका कारण बैंकले पनि आयातको परिमाण घटाएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाइ बज्राचार्यले सुनको भाउ तोलाको ३ लाख माथि गएकाले गहनाको माग घटेको बताए।
‘सुनको भाउ दैनिकरुपमा बढेर तोलाको ३ लाख क्रस भएपछि कारोबार कम भएको छ,’ उनले भने, ‘अहिले बजारमा माग कम छ। गहना बेच्न ल्याउनेहरुको संख्या पनि पहिले जस्तो छैन।’
गत माघ १५ गते तोलाको ३ लाख ४० हजार रुपैयाँसम्म सुनको भाउ केही दिनअघि २ लाख ८३ हजारसम्म आइपुगेकामा बुधबार ३ लाख ६ हजार ७०० रुपैयाँका दरले किनबेच भइरहेको छ।
महासंघका उपाध्यक्ष रहेका स्वर्ण गृह ज्वेलर्सका संचालक दियेशरत्न शाक्यले पनि भाउ बढ्दाको असर कारोबारमा परेको बताए। ‘सुनको भाउ बढ्न थालेपछि बजारमा माग घट्दै गएको छ। बजारमा माग नभएकैले बैंकमा स्टक बस्न थालेको छ,’ उनले भने।
गहना किनबेचका लागि तीज पर्व सिजन मानिन्छ। तीज आउन अब एक महिना बाँकी छ। व भाउ उकालो लागिरहेका कारण व्यवसायीहरुलाई यसपालि तीजमा गहनाको माग बढ्ने विश्वास छैन।
‘मूल्य तोलाको ३ लाख भन्दा तल आएपछि गहना बनाउने ग्राहक बढेका थिए। अहिले भाउ बढेकाले ग्राहकबाट अर्डर आएको छैन। तीज गहनाको माग हुने समय हो। त्यो समयमा माग अलि बढ्न सक्छ। तर, भाउ बढ्यो भने चाहिं असर गर्छ,’ वानेश्वरस्थित एक सुनचाँदी व्यवसायीले भने।
बैंकलाई दैनिक २५ केजी सुन आयातको कोटा तोकिएको छ। तर, बजारमा माग नरहेका कारण बैंकले अहिले खासै आयात गरेका छैनन्। बैंकमा अहिले ५० किलो सुन स्टक छ।