काठमाडौं। सेयर बजारमा १०२ कम्पनीको मूल्य बढेको छ। नेप्से परिसूचक ०.५५ अंक बढेर २६४२.४० विन्दुमा पुगेको छ। कारोबारमा आएका बैंक, फाइनान्स, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट र म्युचुअल फण्ड उपसमूहको सेयर मूल्य बढेको छ।
लगानी उपसमूहको सूचक सबैभन्दा धेरै २.२१ प्रतिशतले बढेको छ। माउन्ट एभरेष्ट डेभलपमेन्ट पावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। मंगलबार नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर कारोबारमा आएको पहिलो दिन १५ प्रतिशतले बढेको हो।
बजारमा बुधबार सूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनका तुलनामा घटेको छ। मंगलबार ४ अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार किनबेच ३ अर्ब ५३ करोड २१ लाख रुपैयाँमा खुम्चिएको छ।
बजारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको ३१ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, सेन्ट्रल फाइनान्सको २२ करोड ४८ लाख र सोलु हाइड्रोपावरको २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
बजारमा सेयरमूल्य घटेका १६५ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। ९ कम्पनीको मूल्य स्थिर रह्यो। घटेकामध्ये अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। यो कम्पनीको सेयरमा मंगलबार पोजेटिभ सर्किट लागेको थियो।