काठमाडौं। गैरआवासीय नेपाली (एनआरएन)लाई धितोपत्रको दोस्रो बजारमा प्रवेशको बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एनआरएन डेभलपमेन्ट फण्डलाई आइपीओमार्फत पुँजी जुटाउने बाटो खुलाएको हो।
सेबोनले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा संशोधनमार्फत एनआरएनलाई आइपीओ निष्कासन गरेर दोस्रो बजारमा सहभागी हुने बाटो खोलेको हो।
बजार प्रवेशको बाटो खुला भएसँगै एनआरएन डेभलपमेन्ट फण्डले आइपीओ निष्कासनको तयारी थालेको छ। सन् २०२६ मै आइपीओ जारी गरेर पुँजी संकलन गरिसक्ने योजना अनुसार काम भइरहेको फण्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले बताए।
‘नेपालमा वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा नयाँ आयाम थपिएको छ। पछिल्लो पटक धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा संशोधन गरिएसँगै हामीलाई आइपीओ निष्कासनको बाटो खुलेको छ,’ उनले भने, ‘हामीले डायस्पोरा इन्भेष्टमेन्ट सिस्टम बनाइरहेका छौं। २०२६ भित्रै पहिलो चरणमा आइपीओ निष्कासन गरिसक्छौं। खाताका लागि पनि राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छौं।’
विदेशमा रहेका गैरआवासीय नेपालीले विदेशबाटै अनलाइनमार्फत बैंक खाता, टीएमएस, प्यानकार्ड बनाउन सक्नेछन्। उनीहरुले सोही खातामार्फत एनआरएन फण्डमा लगानी गर्न सक्नेछन्। लगानीको न्यूनतम् सीमा १ लाख रुपैयाँ र अधिकतम् १० करोड रुपैयाँ तोकिएको छ।
‘नेपाली रुपैयाँको विदेशी मुद्राको खाता हुन्छ। त्यसमा अरु रकम जम्मा गर्न पाइँदैन। विदेशबाट आएको रकम, एनआरएन डेभलपमेन्टले जम्मा गरेको डिभिडेन्ट र सीडीएससीले सेयर किनबेचबापत क्लियरिङ गरेको रकम जम्मा हुन्छ,’ उनले भने।
एनआरएनले सुरुमा फण्डको आइपीओमा सुरुमा लगानी गर्न पाउनेछन्। त्यसपछि फण्डले निष्कासन गर्ने अरु बण्ड लगायत उपकरणमा लगानी गर्न सक्नेछन्।
फण्डले पहिलो चरणमा ८ अर्ब ५० करोड रुपैयाँको आइपीओ निष्कासन गर्ने तयारी गरेको छ। आइपीओ निष्कासनपछि दोस्रो चरणमा १० अर्ब रुपैयाँको बण्ड जारी गर्ने तयारी रहेको भट्टराईले बताए। उनका अनुसार, फण्डमार्फत लगानीका लागि २०० आयोजना पाइपलाइनमा छन्।
आइपीओ निष्कासनपछि कम्पनी नेप्सेमा इन्भेष्टमेन्ट क्षेत्रमा सूचीकृत हुनेछ। सूचीकृत भएपछि कम्पनीले विभिन्न क्षेत्रका परियोजामा आधारित लगानी एनआरएनमार्फत जुटाउनेछ।