काठमाडौं। सरकारी कार्यालयमा सेवाग्राहीले पेस गर्ने निवेदनको ढाँचा अब एउटै हुने भएको छ।
यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा कार्यान्वयन मार्गदर्शन’ बनाइ सबै सरकारी कार्यालयलाई सर्कुलर गरेको छ।
देशभरका सरकारी कार्यालयलाई मार्गदर्शन प्रभावकारीरुपमा कार्यान्वयन गर्न सर्कुलर गरिएको हो। यो मार्गदर्शनले अब विभिन्न सरकारी कार्यालयमा सेवा प्राप्त गर्नका लागि पेस गरिने निवेदनको ढाँचामा रहेको विविधता र अन्योल हटाउनेछ। देशैभर अब एउटै र निश्चित ढाँचा कायम हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मार्गदर्शनले सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिकमैत्री बनाउँदै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः डिजिटल माध्यमबाट समेत प्रयोग गर्न सकिने गरी सूचना प्रविधिमा आधारित बनाउनेछ।
‘आवेदन डिजिटल ढाँचामा समेत उपलब्ध हुने भएकाले सरकारी सेवा अनलाइन वा मोबाइल एपमार्फत सजिलै लिन सकिने बाटो खुला भएको छ,’ बालेनको सचिवालयले भनेको छ।
मार्गदर्शन प्रभावकारीरुपमा कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई तोकिएको छ।