कमाठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृतका लागि ८ जनाले आवेदन दिएका छन्।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका अनुसार नेप्सेको सीइओका लागि ८ जनाको आवेदन परेको हो।
सीइओ छनोट समितिले ५ जनाको संक्षिप्त सूची निकालेर कार्ययोजना प्रस्तुतिकरणको मिति तोक्नेछ। त्यसपछि समितिले अर्थमन्त्रीसमक्ष तीन जनाको नाम सिफारिस गर्नेछ। अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेर नेप्सेको सीइओ नियुक्तिको निर्णय गराउँछन्।
छनोट समितिमा अर्थ मन्त्रालयकै सहसचिव महेश आचार्य संयोजक छन्। मन्त्रालयले १५ दिनको म्याद दिएर साउन १२ गते आवेदन खुलाएको थियो।
सीइओका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा स्नातकोत्तर हासिल गरेका, चार्टर्ड एकाउन्टेन्सी गरेको हुनुपर्ने योग्यता तोकिएको छ। यस्तै, ७ वर्ष व्यवस्थापकीय तहमा काम गरेको सहित १५ वर्षको अनुभव तोकिएको छ।
नेप्सेका तत्कालीन सीइओ चुडामणि चापागाइँले असार २२ गते राजीनामा दिएपछि मन्त्रालयले नियुक्ति प्रक्रिया अगाडि बढाएको हो।