BIZMANDU
www.bizmandu.com

वुलिङले नाइमामा ल्यायो २० लाख पर्ने ‘मिनी इभी’, फुल चार्जमा कति दिन्छ रेन्ज?

२०८३ साउन २७

वुलिङले नाइमामा ल्यायो २० लाख पर्ने ‘मिनी इभी’, फुल चार्जमा कति दिन्छ रेन्ज?
वुलिङले नाइमामा ल्यायो २० लाख पर्ने ‘मिनी इभी’, फुल चार्जमा कति दिन्छ रेन्ज?


काठमाडौं। चिनियाँ विद्युतीय सवारीसाधन उत्पादन कम्पनी वुलिङको लोकप्रिय सानो विद्युतीय कार ‘मिनी इभी’ नेपालमा सार्वजनिक गरिएको छ। प्यारामाउन्ट मोटर्सले नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत मिनी इभीलाई लन्च गरेको हो।

Tata
GBIME

चार सिट क्षमताको मिनी इभीको लङ रेन्ज संस्करणले एकपटक पूर्ण चार्जमा ३०१ किलोमिटरसम्मको दूरी तय गर्ने कम्पनीको दाबी छ। यसको स्ट्यान्डर्ड रेन्ज संस्करणले भने २०५ किलोमिटर रेन्ज दिनेछ।

लङ रेन्ज संस्करणमा २५.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ। स्ट्यान्डर्ड रेन्जमा १६.२ किलोवाट आवरको ब्याट्री उपलब्ध छ।

मिनी इभीमा ३० किलोवाट क्षमताको विद्युतीय मोटर प्रयोग गरिएको छ। यसमा पछाडिको पाङ्ग्राबाट शक्ति संचालन हुने व्यवस्था छ। गाडीमा इकोनोमी, स्ट्यान्डर्ड र स्पोर्टस् गरी विभिन्न ड्राइभिङ मोड उपलब्ध छन्।

मिनी इभीको लामो रेन्ज संस्करणमा डीसी फाष्ट चार्जिङ सुविधा दिइएको छ। ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३५ मिनेट लाग्ने कम्पनीले जारी गरेको विवरणमा उल्लेख छ।

सानो आकार भए पनि मिनी इभीमा उपयोगितालाई प्राथमिकता दिइएको छ। पछाडिका सिट फोल्ड गर्दा यसको सामान राख्ने क्षमता ८३८ लिटरसम्म पुग्ने भनिएको छ।

गाडीको लम्बाइ ३,२६८ मिलिमिटर, चौडाइ १,५२० मिलिमिटर र उचाइ १,५७५ मिलिमिटर रहेको छ। यसको ह्विलबेस २,१९० मिलिमिटर छ।

मिनी इभीमा सुरक्षाका लागि अगाडि एयरब्याग, रिभर्सिङ क्यामेरा, पछाडि पार्किङ सेन्सर, विद्युतीय स्थिरता नियन्त्रण, ट्र्याक्सन नियन्त्रण, हिल स्टार्ट असिस्ट, इलेक्ट्रोनिक पार्किङ ब्रेक र टायर प्रेसर निगरानी प्रणालीजस्ता सुविधा उपलब्ध छन्।

त्यस्तै, स्वचालित डोर लक, चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ पनि दिइएको छ।

इन्टेरियरमा ७ इन्चको स्क्रिन, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ब्लुटुथ, स्मार्टफोन कनेक्टिभिटी र स्पिकरजस्ता सुविधा छन्। अगाडिका सिट चारतर्फी समायोजन गर्ने सुविधा पनि उपलब्ध छ।

वुलिङले मिनी इभीलाई सहर केन्द्रित प्रयोगका लागि डिजाइन गरेको छ। सानो आकार, चार सिट, कम पार्किङ स्थान आवश्यक पर्ने डिजाइन र लामो रेन्जका कारण यो मोडल विशेषगरी सहरी विद्युतीय कार बजारमा लक्षित देखिन्छ।

मिनी इभीको मूल्य दुईवटा भेरियन्टमा २१ लाख र २३ लाख रुपैयााँ राखिएको छ। नाइमा एक्स्पो अफरमा भने यी गाडीको मूल्य १९ लाख ९९ हजार र २१ लाख ९९ हजार रुपैयाँ राखिएको छ।