BIZMANDU
www.bizmandu.com

टाटा, बीवाईडी र चेरी क्यूक्यूमा झुम्मिए दर्शक, बाटोका कारण दुई वटा स्टल खाली

२०८३ साउन २६

टाटा, बीवाईडी र चेरी क्यूक्यूमा झुम्मिए दर्शक, बाटोका कारण दुई वटा स्टल खाली
टाटा, बीवाईडी र चेरी क्यूक्यूमा झुम्मिए दर्शक, बाटोका कारण दुई वटा स्टल खाली


काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा पहिलो दिनमै दर्शकको उल्लेख्य भीड देखिएको छ। आयोजकका अनुसार पहिलो दिन मात्रै करिब २९ हजार दर्शकले एक्स्पो भ्रमण गरेका छन्।

Tata
GBIME

बिहान ९ बजे औपचारिक उद्घाटन कार्यक्रम गरिएको एक्स्पोमा त्यसपछि दिउँसो १ बजेसम्म मिडिया तथा व्यवसायिक गतिविधि सञ्चालन गरिएको थियो। दिउँसो १ बजेपछि सर्वसाधारणका लागि खुला गरिएको एक्स्पोमा नयाँ ब्रान्ड र नयाँ मोडलप्रति दर्शकको चासो उच्च देखिएको हो।

विशेषगरी टाटा मोटर्स, बीवाईडी र चेरी क्यूक्यूका स्टलमा दर्शकको बाक्लो उपस्थिति देखिएको थियो। गत वर्षको तुलनामा यसपटक टाटा मोटर्सको नाइमा एक्स्पोमा पहिलोपटक भएको सहभागिताले पनि एक्स्पोमा दर्शक बढाउन सहयोग गरेको व्यवसायीहरूको भनाइ छ। गत वर्ष टाटा एक्स्पोमा सहभागी थिएन।

टाटाको स्टलमा टियागो ईभी र पन्च ईभीको फेसलिफ्ट हेर्न दर्शकको भीड थियो। कम मूल्यमा तुलनात्मक रूपमा धेरै फिचर र आफ्नो सेग्मेन्टमा प्रतिस्पर्धी उत्पादन उपलब्ध भएकाले यी मोडलप्रति ग्राहकको आकर्षण बढेको देखिन्छ।

बीवाईडीले पनि आफ्नो लोकप्रिय एट्टो सिरिजका एट्टो १, एट्टो २ र एट्टो ३ का नयाँ/फेसलिफ्ट संस्करण एक्स्पोमा राखेको छ। मूल्यलाई नेपाली बजारको प्रतिस्पर्धात्मक दायरामा राखिएकाले बीवाईडीको स्टलमा पनि दिनभर ग्राहकको चाप देखिएको थियो।

अर्को भनेको नेपालमा पहिलोपटक प्रवेश गरेको चेरी क्यूक्यूले पनि पहिलो दिनमै दर्शकको ध्यान तानेको छ। क्यूक्यूको स्टलमा दिनभर नै ग्राहकको भीड देखिएको थियो।

कम्पनीले आफ्नो पहिलो मोडल क्यूथ्रीलाई करिब ३१ लाख रुपैयाँको मूल्यमा नेपाली बजारमा प्रस्तुत गरेको छ। नयाँ ब्रान्ड भए पनि मूल्य, फिचर र डिजाइनका कारण क्यूक्यूको स्टलमा युवादेखि पारिवारिक ग्राहकसम्मको चासो देखिएको थियो।

यसपटक एक्स्पोमा ईभी मात्र नभई पेट्रोल, हाइब्रिड तथा अन्य पावरट्रेनका सवारीसाधनप्रति पनि ग्राहकको चासो देखिएको छ।

हुन्डाईको नेपालमै उत्पादन भइरहेको भेन्यु फेसलिफ्ट हेर्न पनि दर्शकको भीड देखिएको थियो। यसपटकको एक्स्पोमा ईभीप्रति मात्रै नभई पेट्रोल तथा हाइब्रिड सवारीसाधनप्रति समेत ग्राहकको चासो देखिएको हो।

निसानको नयाँ टेक्टन मोडलले पनि दर्शकको ध्यान तानेको थियो। त्यस्तै, नेपालमा नयाँ प्रवेश गरेका तथा नयाँ उत्पादन सार्वजनिक गरेका बीएआईसी बीजे३०ई, टोयोटा आरएभी फोर र डेन्जाका मोडलमा पनि ग्राहकले रुचि देखाएका छन्।

यस्तै एमजी र ओमोडा र ओराको स्टलमा समानन्तर रुपमा ग्राहकहरु भिजिट गरिरहेका थिए।

लिपमोटर बी०३एक्स, वुलिङ र प्रोटोन इमास पाइभ’का स्टलमा समेत दर्शकको बाक्लो उपस्थिति देखिएको थियो।

दुई पांग्रेमा पनि ग्राहकको आकर्षण कम देखिएन। टीभीएस, चेतक, एथर, एड्भेन्चर बाइक ब्रान्ड मोर्बिडेली, ट्रायम्फ र रोयल इन्फिल्डका स्टलमा पनि दिनभर दर्शकको आवागमन थियो।

नाइमाका संस्थापक निराकार श्रेष्ठका अनुसार पहिलो दिन एक्स्पोमा अपेक्षाभन्दा राम्रो दर्शक उपस्थिति देखिएको छ।

उनले नयाँ गाडी हेर्न र बुझ्न चाहने ग्राहकको ठूलो समूह एक्स्पोमा आएको बताए। यसपटक एक्स्पोमा ४८ वटा नयाँ उत्पादन सार्वजनिक हुनु तथा आधा दर्जनभन्दा बढी नयाँ ब्रान्डको प्रवेशले पनि दर्शक तान्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

‘गाडी हेर्न र बुझ्न आउनेको ठूलो जमात देखिएको छ। नयाँ उत्पादन र नयाँ ब्रान्ड पनि धेरै भएकाले ग्राहकको चासो बढेको छ,’ श्रेष्ठले भने।

महिन्द्राका आधिकारिक बिक्रेता अग्नि इन्ककर्पोरेटेडका निर्देशक वर्दान बस्नेतले पनि पहिलो दिन दर्शक उपस्थितिले व्यवसायीको आत्मविश्वास बढाएको बताए।

उनका अनुसार पहिलो दिनमै यति ठूलो भीड आउने अपेक्षा व्यवसायीहरूले गरेका थिएनन्। गाडी हेर्न र बुझ्न आउनेसँगै बुकिङ गर्ने ग्राहकसमेत देखिएको उनले बताए।

‘हामीले पहिलो दिनमै यति ठूलो भीड होला भनेर सोचेका थिएनौं। तर निकै राम्रो प्रतिक्रिया आएको छ। गाडी हेर्न, बुझ्न र बुकिङ गर्न आउने ग्राहक छन्,’ बरदान बस्नेतले भने।

केही समूहअन्तर्गत बिक्री गरिरहेका ब्रान्डहरूले मात्रै पहिलो दिनमा १५० युनिटसम्म बुकिङ लिएको व्यवसायीहरूको भनाइ छ। यसलाई उनीहरूले एक्स्पोको पहिलो दिनकै लागि सकारात्मक सुरुवातका रूपमा लिएका छन्।

सडकले रोक्यो दुई ब्रान्डका गाडी

एकातिर एक्स्पोमा नयाँ ब्रान्ड र मोडलले दर्शक तानिरहेका बेला अर्कोतिर नेपालको कमजोर व्यापारिक सडक पूर्वाधारको असरसमेत एक्स्पोमै देखिएको छ।

यसपटक एक्स्पोमा दुईवटा स्टल बिएआईसी अन्तर्गतको आर्कफक्स र चिनियाँ राष्टपतिले चढ्ने गाडी ब्रान्ड होङ्छी खाली देखिएका छन्। ती स्टलमा गाडी राख्न नसकेपछि कमिङ टुमरो वा अन्य केही लेखिएको थियो। यस्तै बीएआईसीको अर्को मोडल पनि आएको छैन।

व्यवसायीका अनुसार चीनबाट नेपालतर्फ नयाँ सवारीसाधन ल्याउने क्रममा तातोपानी र केरुङ नाका जोड्ने व्यापारिक मार्गको अवस्थाका कारण समस्या भएको हो। विशेषगरी वर्षायाममा सडकको अवस्था बिग्रिँदा नयाँ सवारीसाधन समयमै नेपाल ल्याउन नसकिएको उनीहरूको भनाइ छ।

व्यवसायीले स्टलको भाडा तिरेर लाखौं रुपैयाँ खर्च गरी स्टल तयार गरे पनि गाडी समयमै नेपाल आइपुग्न नसक्दा स्टल खाली राख्नुपर्ने अवस्था आएको हो।

नाइमा मोबिलिटी एक्स्पोमा देखिएको यो दृश्यले नेपालमा पछिल्लो समय चीनमा निर्भर हुनेगरी अटोमोबाइल बजार विस्तार भइरहे पनि चीनसँग जोडिएका प्रमुख व्यापारिक नाकासम्मको सडक पूर्वाधार अझै पनि व्यवसायीका लागि ठूलो चुनौती रहेको देखाएको छ।

एक्स्पोमा पहिलो दिन देखिएको २९ हजारको भीडले भने नयाँ ब्रान्ड, नयाँ मोडल र प्रतिस्पर्धात्मक मूल्यका सवारीसाधनप्रति नेपाली उपभोक्ताको चासो तीव्र रूपमा बढिरहेको संकेत गरेको छ।