काठमाडौं। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को पहिलो दिन २९ हजारभन्दा बढीले अवलोकन गरेका छन्।
एक्स्पो नेपाल प्रहरी क्लबस्थित ब्लु पभेलियन अडिटोरियममा मंगलबार उद्घाटन भएको थियो।
आयोजक नाइमाका अनुसार पहिलो दिन २९ हजार भन्दा बढीले अवलोकन गरेका छन्। मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
पहिलो दिन नै विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक पनि गरेका छन्।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो ६ दिनसम्म चल्नेछ।
एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन्।
एक्सपोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन्।