BIZMANDU
www.bizmandu.com

नेपाल ‘प्याक्स सिलिका’मा साझेदार भएकोबारे वर्षमानको आपत्ति, के हो प्याक्स सिलिका ?

२०८३ साउन २६

नेपाल ‘प्याक्स सिलिका’मा साझेदार भएकोबारे वर्षमानको आपत्ति, के हो प्याक्स सिलिका ?
नेपाल ‘प्याक्स सिलिका’मा साझेदार भएकोबारे वर्षमानको आपत्ति, के हो प्याक्स सिलिका ?


काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल खनिजसँग सम्बन्धित ‘रणनीतिक तथा सामरिक महत्त्व’ का अन्तर्राष्ट्रिय साझेदारीमा संलग्न भएको आशंका गर्दै त्यसबारे सरकारले संसद्लाई स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन्।

Tata
GBIME

मंगलबार प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक– २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले विशेष गरी रणनीतिक महत्त्वका खनिजको अन्वेषण तथा उत्खनन् विदेशी कम्पनीलाई दिनेसम्बन्धी ‘प्याक्स सिलिका’ मा नेपाल सहभागी भएको हो कि होइन भन्ने प्रश्न गरे।

विधेयकको मस्यौदामा सरकारले रणनीतिक तथा सामरिक महत्त्वका खनिज घोषणा गर्न सकिने प्रस्ताव गरेको भन्दै त्यो संविधानको धारा २७९ को व्यवस्थाविपरीत रहेको बताए। पुनले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको समयमा नेपाल प्याक्स सिलिकामा गएको भन्ने विषय उठेकाले यसमा सरकारले स्पष्ट गर्नुपर्ने बताए।

नेपालको संविधानले त्यस्ता रणनीतिक गठबन्धन या साझेदारीमा संलग्न हुन रोकेको उनको भनाइ थियो। उनले खनिजसम्बन्धी सम्झौता संसदको दुई तिहाइको अनुमोदनद्वारा मात्र अघि बढाइनुपर्ने व्यवस्था राखिनुपर्नेमा जोड दिए।

‘सरकारमा को रहन्छ, को रहँदैन भन्नेभन्दा पनि यस्ता रणनीतिक तथा सामरिक महत्त्वका खनिजको विषयमा दुई तिहाइको व्यवस्था राख्नुपर्छ,’ पुनले भने। पुनले युरेनियम, दुर्लभ माटोका खनिजलगायत भविष्यमा राष्ट्रिय सुरक्षा, ऊर्जा, प्रविधि र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनसँग जोडिन सक्ने खनिजलाई सामान्य खानीसरह व्यवहार गर्न नहुनेमा जोड दिए।

पुनले अहिले विश्वभर दुर्लभ माटोका खनिज तथा अन्य महत्वपूर्ण खनिजलाई लिएर ठूला शक्ति राष्ट्रबीच प्रतिस्पर्धा भइरहेको भन्दै नेपालमा पाइने सम्भावित रणनीतिक खनिजको विषयलाई सामान्य खानीका रूपमा हेर्न नहुने तर्क गरे।

के हो प्याक्स सिलिका ?
प्याक्स सिलिका अमेरिकाको नेतृत्वमा अघि बढाइएको महत्वपूर्ण खनिज, प्रविधि, अर्धचालक, कृत्रिम बुद्धिमत्ता र ऊर्जा क्षेत्रको आपूर्ति शृंखला सुरक्षित गर्ने अन्तर्राष्ट्रिय पहल हो।

ती देशहरुले यसको उद्देश्य महत्वपूर्ण खनिज तथा प्रविधिका क्षेत्रमा सीमित देशमाथिको निर्भरता घटाउनु र साझेदार मुलुकबीच सहकार्य बढाउनु भएको तर्क गर्दै आएका छन्। यसले महत्वपूर्ण खनिजको उत्खननदेखि प्रशोधन, प्रविधि उत्पादन, अर्धचालक र कृत्रिम बुद्धिमत्तासम्मका क्षेत्र समेट्छ। छिमेकी भारत यसघि नै प्याक्स सिलिकामा सामेल भइसकेको छ।

पुनले प्याक्स सिलिकाकै प्रसंगमा मुस्ताङमा रहेको भनिएको युरेनियम अमेरिकी तथा अस्ट्रेलियाली कम्पनीलाई संयुक्त रूपमा अन्वेषण वा उत्खननका लागि दिन लागिएको भन्ने चर्चाबारे पनि सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए। प्याक सिलिका अन्तर्गत नै मुस्ताङमा भएको युरेनियम उत्खननका लागि अमेरिकन र अस्ट्रेलियन कम्पनीलाई जोइन्ट भेन्चरमा दिइएको विषय नेपाली र भारतीय मिडियामा आएको चर्चा गर्दै पुनले त्यसबारे सरकारको धारणा माग गरे।