काठमाडौं। नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीलाई कर्जा लगानीको दायरा विस्तार गरेको छ।
राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत तथा प्रक्रियागत व्यवस्थामा मंगलबार छैटौं संशोधन गरी दगानीको दायरा विस्तार गरेको हो।
संशोधित व्यवस्था अनुसार कम्पनीहरुले अब घरायसी प्रयोजनका लागि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई वासिङ मेसिन, रेफ्रीजिरेटर, भ्याकुम क्लिनर, डिस वासर लगायत विद्युतीय उपकरण खरिद गर्नका लागि कर्जा वा सापटी दिन पाउनेछन्।
यसअघि कम्पनीले व्यक्ति, फर्म वा संस्थालाई सवारीसाधन र मेसिनरी औजार खरिद गर्न कर्जा दिन पाउने व्यवस्था थियो।
हायर पर्चेज कर्जा दिने कम्पनीले प्रस्तावित संस्थाका संस्थापक सेयरधनी/ संचालकको फिट एण्ड प्रपर टेस्ट पश्चात मात्रै कर्जा स्वीकृति गर्नुपर्ने छ।
राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिन दिएको स्वीकृति प्रत्येक १० वर्षमा नवीकरण गरे हुने व्यवस्था गरेको छ। यसअघि प्रत्येक २ वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था थियो।
कम्पनीले सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्दा सवारीसाधनको ऋण मूल्य अनुपात (लोन टू भ्यालु रेसियो) बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन अनुसार हुने राष्ट्र बैंकले जनाएको छ।
कम्पनीहरुले कर्जाको ब्याजदर कष्ट अफ फण्डलाई आधार मानेर सूचना सार्वजनिक गर्नु पर्नेछ। कर्जाको ब्याजदर तय गर्दा कष्ट अफ फण्डमा २ प्रतिशतभन्दा बढी थपघट गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ। साथै, यस्तो कर्जामा अधिकतम १ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाइनेछ।