काठमाडौं। डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचरले नेपालमा विदेशी लगानी (एफडीआई) भित्र्याउनभन्दा पनि नाफा वा लगानी फिर्ता लैजान धेरै कठिन रहेको बताएका छन्।
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने ठूला लगानीकर्तामध्येका एक गोचरले मंगलबार ‘नाइमा मोबिलिटी संवाद’मा झन्झटिलो प्रशासनिक प्रक्रिया र नीतिगत अस्थिरताले अन्तर्राष्ट्रिय लगानीकर्ता निराश बन्नुपर्ने स्थिति रहेको बताए।
‘यो देशमा पैसा ल्याउन धेरै गाह्रो छ। देशबाट पैसा बाहिर लैजान त लगभग असम्भव छ’ उनले भने। उनले लगानी फिर्ता लैजाने प्रक्रियामा भोग्नुपरेका समस्यालाई विस्तारमा प्रस्तुत गरे।
उनका अनुसार एक समय सरकारले अन्तर्राष्ट्रिय कर सन्धि पालना नगर्ने अवस्था आएको थियो। पछि सरकारले कर सन्धि पालना गरे पनि त्यसविरुद्ध सार्वजनिक सरोकारको मुद्दा दायर भएपछि आफूहरूले अन्तर्राष्ट्रिय कानुनविपरीत कर तिर्नुपर्ने अवस्था आएको उनले बताए। ‘त्यसपछि कर तिर्नका लागि आवश्यक ट्याक्स नम्बर प्राप्त गर्न चार महिना लाग्यो,’ उनले भने, ‘त्यस्तै, लगानी गरेको कम्पनी बेचेर रकम फिर्ता लैजान खोज्दा समेत कम्पनीको बोर्ड बैठकको निर्णय मागियो।’
गोचरले अनावश्यक प्रक्रियाका कारण धेरै सास्ती झेल्नुपरेको बताए। ‘सयौं कागजपत्र आवश्यक पर्छन्, जुन म आएको देश बेलायतमा केवल सेलमा क्लिक गर्दा पैसा जहाँबाट आएको हो त्यहीँ जान्थ्यो,’ उनले भने।
उनले बेलायतजस्ता देशमा एउटा क्लिकको भरमा हुने कामलाई नेपालमा सयौं कागजी प्रक्रियामा अल्झाउने गरिएको अनुभव सुनाउँदै विदेशी लगानीकर्तालाई रातो कार्पेट बिछ्याउनुपर्नेमा जोड दिए।
गोचरले आफूहरूले हालसम्म १०० मिलियन डलरभन्दा बढी लगानी प्रतिबद्धता गरेको तर त्यो पैसा नेपाललाई चाहिने वैदेशिक लगानीको तुलनामा समुद्रमा एक थोपा जस्तै भएको बताए।
उनले नेपाललाई आवश्यक अर्बौं डलर लगानी लन्डन, न्युयोर्क वा सिङ्गापुर जस्ता वित्तीय केन्द्रबाट मात्रै सम्भव हुने तर उनीहरुले पुराना लगानीकर्ताको हविगत हेरिरहेको बताए।
‘अहिले डोलमा, बीआईआई, एफएमओ, आईएफसी जस्ता संस्थाले लगानी गरेका छन्। उनीहरूले यहाँबाट सजिलै लगानी र नाफा फिर्ता लगेर एउटा सफल कथा नसुनाएसम्म लन्डन वा न्युयोर्कमा लगानी सम्मेलन गर्नुको कुनै अर्थ छैन,’ उनले भने।
नेपालले वैदेशिक लगानीका लागि प्रक्रिया सरलीकृत र पारदर्शी नबनाएसम्म विश्वका ठूला लगानीकर्ता नेपाल आउन हिच्किचाउने उनको भनाइ छ।