BIZMANDU
www.bizmandu.com

जापान पठाउने भन्दै २ करोड ८० लाख ठगेको आरोपमा एक कन्सल्टेन्सीका सीइओ पक्राउ

२०८३ साउन २६

जापान पठाउने भन्दै २ करोड ८० लाख ठगेको आरोपमा एक कन्सल्टेन्सीका सीइओ पक्राउ
जापान पठाउने भन्दै २ करोड ८० लाख ठगेको आरोपमा एक कन्सल्टेन्सीका सीइओ पक्राउ


काठमाडौं। जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृतलाई बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ।

GBIME
Tata

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी-७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी छन्। उनी गेट्सबाइ इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी अधिकृत हुन्।

प्रहरी प्रधान कार्यालयका अनुसार वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा बुढाथोकीलाई सोमबार बुटवलबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई काठमाडौं ल्याएको जनाइएको छ।

बुढाथोकीले कन्सल्टेन्सी सञ्चालन गर्दै ११५ जनालाई जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको आरोप छ। उनीहरूले जापान जाने प्रक्रियाका लागि बुढाथोकीलाई कुल २ करोड ८० लाख रुपैयाँ बुझाएको उजुरी आएको प्रहरीको भनाइ छ।

जापान पठाउने आश्वासन दिएर रकम लिएपछि प्रक्रिया अघि नबढाएको भन्दै पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा विभागले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले बुढाथोकीलाई नियन्त्रणमा लिएको हो।

बुढाथोकीमाथि कार्बाहीका लागि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।