काठमाडौं । जापानी अटोमोबाइल ब्राण्ड टोयोटाले नेपाली बजारमा दुई नयाँ मोडल सार्वजनिक गरेको छ। कम्पनीले नयाँ हाइलक्स र नयाँ र्याभ फोर हाइब्रिड इलेक्ट्रिक नेपाली बजारमा सार्वजनिक गरेको हो।
नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाले आफ्नो लोकप्रिय पिकअप हाइलक्सको नयाँ संस्करणसँगै र्याभ फोरको हाइब्रिड इलेक्ट्रिक संस्करण सार्वजनिक गरेको हो।
हाइलक्सको मूल्य १ करोड ५५ लाख रुपैयाँ राखिएको छ। यस्तै, र्याभ फोरको मूल्य २ करोड १३ लाख रुपैयाँ राखिएको छ।
टोयोटाको लोकप्रिय पिकअप हाइलक्स नयाँ अवतारमा नेपाली बजारमा आएको छ। बलियो निर्माण, अफरोड क्षमता र व्यावसायिक तथा व्यक्तिगत प्रयोगका लागि लोकप्रिय हाइलक्सको नयाँ संस्करणमा डिजाइन, प्रविधि र सुविधामा अपडेट गरिएको छ।
नयाँ र्याभफोर मोडलमा २.५ लिटर फोर सिलिण्डर इन्जिन रहेको छ। सेल्फ चार्जिङ हाइब्रिड नामबाट आउने र्याभफोरको इन्जिन र इलेक्ट्रीक मोटरको संयुक्त पावर २४० पीएस छ। जुन अहिले बजारमा रहेको र्याभफोरको तुलनमा १८ पीएसले बढी हो। सेल्फ चार्जिङ मोडलमा ब्याट्री भने १.५ किलोवाट आवर उपलब्ध हुनेछ।