BIZMANDU
www.bizmandu.com

नाइमा मोबिलिटी एक्स्पोमा नयाँ ब्राण्ड र मोडलका गाडी सार्वजनिक गर्ने होड, मूल्य कति?

२०८३ साउन २६

नाइमा मोबिलिटी एक्स्पोमा नयाँ ब्राण्ड र मोडलका गाडी सार्वजनिक गर्ने होड, मूल्य कति?
नाइमा मोबिलिटी एक्स्पोमा नयाँ ब्राण्ड र मोडलका गाडी सार्वजनिक गर्ने होड, मूल्य कति?


काठमाडौं। अटो व्यवसायीले नाइमा मोबिलिटी एक्स्पोमा धमाधम नयाँ ब्राण्ड र मोडलका गाडी सार्वजनिक गरेका छन्।। मोबिलिटी एक्स्पो सुरु भएको दिन मंगलबार व्यवसायीहरुले विभिन्न नयाँ ब्राण्ड र मोडलका गाडी सार्वजनिक गरेका हुन्।

Tata
GBIME

चिनियाँ ब्राण्ड बीवाइडीले नेपालमा एकैपटक तीन नयाँ मोडलका गाडी सार्वजनिक गरेको छ। बीवाइडीले एटो १ को फेसलिफ्ट, एटो२ को ४५ किलोवाट आवर ब्याट्री भएको बेस भेरियन्ट र एटो३ को फेसलिफ्ट मोबिलिटी एक्स्पोमा लन्च गरेको हो।

नयाँ मोडल भित्र्याएर बीवाइडीले नेपालमा आफ्नो एटो सिरिजलाई थप फराकिलो बनाएको छ। एटो२ को नयाँ बेस भेरियन्ट तुलनात्मक रूपमा कम मूल्यमा कम्प्याक्ट इलेक्ट्रिक एसयूभी खोज्ने ग्राहकलाई लक्षित गाडी हो।

यसअघि नेपालमा एटो२ ५१.१३ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध थियो। मूल्य एटो२ इसेनसियलको ४५ लाख ९५ हजार र प्रिमियमको ४८ लाख ९९ हजार रुपैयाँ राखिएको छ।

यस्तै एटो३ को एडभान्स्डको मूल्य ६२ लाख ९० हजार र सुपेरियरको मूल्य ७८ लाख रुपैयाँ राखिएको छ।

बीवाइडीको आधिकारिक बिक्रेता कम्पनी साइमेक्स इंकले एटो१ को फेसलिफ्टको मूल्य डाइनामिकको ३० लाख ७५ हजार र प्रिमियमको ३४ लाख ८० हजार रुपैयाँ तोकेको छ।

बीवाइडीले आफ्नो सानो इलेक्ट्रिक ह्याचब्याक एटो१ को पनि फेसलिफ्ट संस्करण नेपाल ल्याएको छ। एटो१ मूलतः शहर केन्द्रित इन्ट्री लेभलको इभी हो।

नेपालमा हाल उपलब्ध एटो१ को डायनामिक भेरियन्टमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ जसले २३० किलोमिटर रेन्ज दिन्छ। फेसलिफ्ट संस्करणमा भने डिजाइन तथा फिचरमा परिमार्जन गरिएको छ। यसमा वायरलेस चार्जर र ३६० डिग्री क्यामेरा राखिएको छ।

जापानी अटोमोबाइल ब्रान्ड निसानले आफ्नो नयाँ एसयूभी टेकटन सार्वजनिक गरेको छ। निसानले नयाँ पुस्ताको एसयूभीका रुपमा उत्पादन गरेको टेकटन मोबिलिटी एक्स्पोमा आधिकारिक विक्रेता पायोनियर मोटोकर्प प्रालिले सार्वजनिक गरेको हो।

यो गाडीको मूल्य ५१ लाख २९ हजार रुपैयाँ राखिएको छ। टेकटनमा आधुनिक डिजाइन छ। ठूलो आकारको बडी, नयाँ पुस्ताको डिजाइन ल्याङ्ग्वेज र आधुनिक इन्टेरियरसहितको यो मोडललाई निसानले एसयूभी सेग्मेन्टमा महत्वपूर्ण उत्पादनका रुपमा ल्याएको हो।

चिनियाँ अटोमोबाइल कम्पनी चेरीले आफ्नो नयाँ क्यूक्यू ब्रान्ड नेपाली बजारमा प्रवेश गराएको छ। कम्पनीले क्यूक्यू ब्रान्डअन्तर्गत क्यू३ मोडल नेपालमा सार्वजनिक गरेको हो।

नाइमा एक्स्पोमा क्यू३ मोडलको कम्फर्ट भेरियन्टको मूल्य ३० लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ राखिएको छ। यसको एमआरपी भने ३४.४९ लाख र ३५.९९ लाख रुपैयाँ राखिएको छ।

कम्पनीका अनुसार चेरी क्यू नयाँ पुस्ताको इभी हो। आधुनिक शहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको यो इलेक्ट्रिक अर्बन क्रसओभरमा ४१.२ किलोवाट क्षमताको ब्याट्री छ जसले एकपटकको चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।

गाडीमा ५४० डिग्री क्यामेरा, १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा ७० लिटर क्षमताको फ्रंक स्पेस रहेको कम्पनीले जनाएको छ। त्यस्तै, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र २० भन्दा बढी एड्‌भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) फिचर छ।

चिनियाँ अटोमोबाइल ब्राण्ड बीएआइसी (बीएआइसी)को हाइब्रिड एसयूभी बीजे३० नेपाली बजारमा भित्र्याइएको छ। यसको मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँ राखिएको छ। नेपालमा बीएआइसी ब्राण्डको प्रवेशसँगै हाइब्रिड प्रविधिसहितको एसयूभी बजारमा ल्याइएको हो।

यसले परम्परागत पेट्रोल एसयूभीको तुलनामा इन्धन खपत कम गर्ने तथा ड्राइभिङमा थप सहजता दिने कम्पनीले बताएको छ। नयाँ मोडलमा आधुनिक एसयूभी डिजाइनसँगै ठूलो क्याबिन, डिजिटल प्रविधि तथा विभिन्न ड्राइभिङ र सेफ्टी फिचर उपलब्ध छन्।

आकर्षक बक्सी डिजाइन, एलइडी लाइटिङ, ठूलो ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक सनरूफ, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ठूलो इन्फोटेन्मेन्ट स्क्रिन तथा एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) जस्ता फिचरले गाडीलाई प्रिमियम सेग्मेन्टमा प्रतिस्पर्धी बनाउने कम्पनीको विश्वास छ।

बीजे३० को प्रवेशले नेपाली एसयूभी बजारमा इभीसँगै हाइब्रिड प्रविधिको प्रतिस्पर्धा समेत थप रोचक हुने देखिएको छ।

टोयोटाका दुई नयाँ मोडल सार्वजनिक गरिएको छ। नयाँ हाइलक्स र र्‍याभ फोर हाइब्रिड इभी सार्वजनिक गरिएको हो। हाइलक्सको मूल्य १ करोड ५५ लाख र र्‍याभ फोरको मूल्य २ करोड १३ लाख रुपैयाँ राखिएको छ। टोयोटाको लोकप्रिय पिकअप हाइलक्स नयाँ अवतारमा नेपाली बजारमा आएको हो।

बलियो निर्माण, अफरोड क्षमता र व्यावसायिक तथा व्यक्तिगत प्रयोगका लागि लोकप्रिय हाइलक्सको नयाँ संस्करणमा डिजाइन, प्रविधि र सुविधा अपडेट गरिएको छ।

नयाँ र्‍याभ फोर मोडलमा २.५ लिटर फोर सिलिण्डर इन्जिन छ। सेल्फ चार्जिङ हाइब्रिड नामबाट आउने र्‍याभ फोरको इन्जिन र इलेक्ट्रिक मोटरको संयुक्त पावर २४० पीएस छ। जुन अहिले बजारमा रहेको र्‍याभ फोरको तुलनामा १८ पीएसले बढी हो।