काठमाडौं। वेष्ट फाइनान्स कम्पनी लिमिटेडले ‘ग्रीन सेभिङ्स’ निक्षेप योजना कार्यान्वयनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकद्वारा जारी ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी, २०२४’ को कार्यान्वयन तथा हरित वित्तको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ल्याइएको उक्त योजना अन्तर्गत प्रत्येक खातावालाका तर्फबाट वित्तीय संस्थाले नै एउटा बिरुवा रोप्ने व्यवस्था मिलाइएको छ।
योजना अन्तर्गत सामुदायिक वन दिवस २०८३ को अवसर पारेर वेष्ट फाइनान्सको अग्रसरतामा वृक्षरोपण कार्यक्रम गरिएको छ। महत गाउँ सल्लाघारी सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्य तथा जिल्ला वन कार्यालय ललितपुरको सहयोगमा गोदावरी नगरपालिका-५ को सामुदायिक वनको सेक्टर ‘ए,’ ‘बी’ र ‘सी’ क्षेत्रमा आइतबार ६०० वटा बिरुवा रोपिएको हो।
रोपिएका बिरुवाको नियमित गोडमेल, मलजल तथा संरक्षण गर्ने, कुनै मरेमा उक्त ठाउँमा नयाँ बिरुवा रोप्ने र कम्तीमा पाँच वर्षसम्म पूर्ण हेरचाह तथा व्यवस्थापन गर्ने जिम्मेवारी महत गाउँ सल्लाघारी सामुदायिक वन उपभोक्ता समितिले लिएको छ।
कार्यक्रममा वेष्ट फाइनान्सका अध्यक्ष प्राडा रामजी गौतम, प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती, सामुदायिक वनकी अध्यक्ष रञ्जिता महत, जिल्ला वन अधिकृत सन्जोग श्रेष्ठ, स्थानीय जनप्रतिनिधि, प्रहरी, अमरक्रान्ति सेकेण्डरी इङलिस स्कुल र सरस्वती विद्यालयका विद्यार्थी तथा स्थानीय उपभोक्ता गरी १२० जनाभन्दा बढीको सहभागिता थियो।
हरित वित्त, वातावरण संरक्षण र सामुदायिक सहभागितालाई जोड्दै ‘एक बचत, एक बिरुवा, हरित भविष्य’ भन्ने सोचमार्फत नेपालमा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न यो पहलले महत्त्वपूर्ण योगदान पुऱ्याउने विश्वास लिएको फाइनान्सले जनाएको छ।