BIZMANDU
www.bizmandu.com

सवारीसाधनका ५३ ब्राण्ड एकै थलोमा, सुरु भयो नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करण

२०८३ साउन २६

सवारीसाधनका ५३ ब्राण्ड एकै थलोमा, सुरु भयो नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करण
सवारीसाधनका ५३ ब्राण्ड एकै थलोमा, सुरु भयो नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करण


काठमाडौं। नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करण सुरु भएको छ। नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनाका काठमाडौंको भृकुटीमण्डपमा मंगलबार मोबिलिटी एक्स्पो सुरु भएको हो।

Tata
GBIME

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले एक्स्पो उद्‍घाटन गरे। एक्स्पो ६ दिनसम्म चल्ने छ। मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिने छ। एक्स्पो संयोजक गौरव शारडाका अनुसार एक्स्पोमा ५३ वटा ब्रान्डको सहभागिता छ।

एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गर्ने ब्रान्डदेखि बजारमा रहेका ब्रान्डका फेसलिफ्ट तथा नयाँ पुस्ताका मोडलसम्म सार्वजनिक गरिंदैछ।

एक्स्पोमा चेरी क्यूक्यू३ र आइकार भी२७ शोकेस हुनेछ। निसानको टेकटन, वुलिङ कम्पनीले एक्सियन एसयूभी, वुलिङ मिनी इभी, डारियन एमपीभी र फेसलिफ्ट बिंगो सार्वजनिक गर्ने तयारी छ। यस्तै जीओ अटोमोबाइल्सको एमजी मेजेस्टर, महिन्द्राले एक्सइभी ९एस र होनरी बोमा इभी एक्स्पोमा नयाँ गाडी हुन्।

बीएआइसीको हाइब्रिड बीजे३० र आर्कफक्स ब्रान्ड नाइमा एक्स्पोबाट नेपाली बजारमा इन्ट्री गर्दैछन्। हुन्डाईको अल न्यु हुन्डाई भेन्यु, आयोनिक ९ इभी, नयाँ केई इक्युट र क्यारीका दुई नयाँ मोडल समेत एक्स्पो अवलोकनकर्ताले देख्न पाउनेछन्।

टाटा मोटर्सको पन्च इभी र टियागो इभीको फेसलिफ्ट मोडल एक्स्पोमा राखिएको छ। बीवाइडीको एटो१, एटो२ र एटो३का अपडेटेड भर्सन एक्स्पोमा राखिएका छन्।

टोयोटाका र्‍याप फोर हाइब्रिड इलेक्ट्रिकसहित हाइलक्स गरी दुई नयाँ मोडल, जीडब्लूएमको ओरा५, कियाका तीन नयाँ गाडी, म्याक्ससका तीन गाडी, हेनरी भोल्ट्सका तीन तथा लीपमोटरको बी०३ एक्स नयाँ मोडल एक्स्पोमा छन्।

डोङफेङका नयाँ बस, स्काइवर्थ र किटोन ब्रान्डका नयाँ मोडल, दुईपाङ्ग्रे सेग्मेन्टमा बजाज चेतक इलेक्ट्रिकका दुई मोडल, टीभीएसका एनटर्क १५० र आरटीएक्स ३००, याडियाका जीएस७०, जीटी७० र जीटी८० तथा अल्ट्राभायोलेटको एक नयाँ मोडल, मोर्बिडेलीको टी२५० एक्स, केरेनका दुई तथा ग्यारोको एक नयाँ मोडल एक्स्पोमा राखिएका छन्।

नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले एक्स्पो केवल सवारीसाधन किचबेच गर्ने थलो मात्र नभई सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एकै ठाउँमा ल्याउने मञ्च भएको बताइन्।

उनले व्यवसायको दीर्घकालीन विकासका लागि सरकारले स्पष्ट, स्थिर र पूर्वानुमान गर्न सकिने नीति ल्याउनुपर्ने जोड दिइन्। बारम्बार फेरिने नीतिले लगानीकर्ता र व्यवसायीमा अनिश्चितता सिर्जना गर्ने उनको भनाइ छ।

‘सरकारले कुनै पनि नीतिगत परिवर्तन गर्नुपूर्व निजी क्षेत्र र सरोकारवालासँग अनिवार्य रूपमा परामर्श गर्नुपर्छ,’ उनले भनिन्।

अध्यक्ष सिंहले स्वच्छ ऊर्जाको अधिक सदुपयोग गर्दै विद्युतीय सवारीसाधन र हरित अर्थतन्त्रतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिइन्। उनले देशको अटोमोबाइल र सहायक उद्योगलाई प्रोत्साहन गरेर मात्र स्थानीय स्तरमा मूल्य अभिवृद्धि बढाउन सकिने र यसले रोजगारी सिर्जनामा सघाउ पुग्ने बताइन्।

सवारीसाधन प्रदर्शनकीका साथै एक्स्पोमा लर्निङ सेसन समेत संचालन हुनेछ। ती सेसनमा अटोमोबाइल क्षेत्र कुन दिशातर्फ अघि बढ्दैछ भन्नेदेखि नयाँ प्रविधि र नवप्रवर्तनबारे विज्ञहरूसँग छलफल गर्ने तालिका छ।

प्रहरी महानिरीक्षक कार्कीले पछिल्ला वर्ष धेरै ब्रान्डका गाडी भित्रिएकाे तर कतिपय ब्राण्डको बिक्रीपछिको सेवा नै नरहेको गुनासो बढेको बताए।