BIZMANDU
www.bizmandu.com

नयाँ ऐन निर्माणमा ढिला हुँदा सेबोन अध्यक्ष भट्ट भन्छन्: अध्यादेशबाट भएपनि समस्या समाधान गर्छु

२०८३ साउन २६

नयाँ ऐन निर्माणमा ढिला हुँदा सेबोन अध्यक्ष भट्ट भन्छन्: अध्यादेशबाट भएपनि समस्या समाधान गर्छु
नयाँ ऐन निर्माणमा ढिला हुँदा सेबोन अध्यक्ष भट्ट भन्छन्: अध्यादेशबाट भएपनि समस्या समाधान गर्छु


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बजार सुधारका लागि ठोस कदम चाल्ने प्रतिबद्धता जनाएको छ। नेपाल सेयर बजार लगानीकर्ता संघको प्रतिनिधिमण्डलसँग छलफलका क्रममा बोर्डका अध्यक्ष डा. गोपाल भट्टले लगानीकर्ताको हकहित संरक्षण र बजारको पारदर्शिता नै आफ्नो प्राथमिक जिम्मेवारी भएको बताएका हुन्।

Tata
GBIME

उनले विद्यमान कानुनी जटिलता फुकाउन नयाँ धितोपत्र ऐन निर्माणमा ढिलाइ भए अध्यादेश ल्याएरै भए पनि पुराना समस्या समाधान गर्न आफू तयार रहेको बताएका थिए।

संघका उपाध्यक्ष भगवानबहादुर रावतको नेतृत्वमा महासचिव रविन कँडेल तथा कार्यसमिति सदस्यहरू ऋषि भेटवाल र विवेक श्रेष्ठ सहितको टोली धितोपत्र बोर्ड पुगेको थियो।

छलफलका क्रममा उपाध्यक्ष रावतले देशको आर्थिक वृद्धिदर ३ प्रतिशतभन्दा मुनि खुम्चिएको र बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि उत्पादनमूलक क्षेत्रमा लगानी प्रवाह हुन नसकेको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए।

विद्यमान अवस्थामा हल्लाका भरमा बजार उतारचढाव हुँदा साना लगानीकर्ताको बचत जोखिममा परेको भन्दै उनले सेयर बजारलाई केही सीमित समूहको कमाउने भाँडो नभई देशको अर्थतन्त्र सुधार्ने वास्तविक माध्यम बनाउनुपर्नेमा जोड दिएका थिए।

छलफलमा लगानीकर्ता प्रतिनिधिहरूले बजारमा व्याप्त इन्साइडर ट्रेडिङ, कृत्रिम रूपमा मूल्य बढाउने/घटाउने खेल र सामाजिक संजालमार्फत फैलाइने गलत हल्लाबारे नियामक निकायको मौनताबारे प्रश्न उठाएका थिए।

जवाफमा अध्यक्ष डा. भट्टले आफूले काम सुरु गरिसकेको उल्लेख गर्दै लगानीकर्तालाई बजारको वास्तविक अवस्था बुझेर मात्रै लगानी गर्न आग्रह गरेका थिए। उनका अनुसार बोर्डले लगानीकर्ता सचेतनाका कार्यक्रमहरूलाई थप तीव्रता दिनेछ।

यद्यपि, प्रतिनिधिमण्डलले विगत दशकौँदेखि बोर्ड नेतृत्वले यस्तै आश्वासन दिने गरे पनि व्यवहारमा ठूला काण्डहरूमा सामान्य जरिवाना गर्ने र वर्षौँसम्म अनुसन्धान लम्ब्याउने परिपाटी कायम रहेको भन्दै खबरदारी गरेको थियो।

त्यसक्रममा अध्यक्ष भट्टले सर्ट सेलिङ र इन्ट्राडे ट्रेडिङका विषयमा आफूले लामो समय अध्ययन-अध्यापन र वकालत गरेको स्मरण गराउँदै अब यसलाई व्यावहारिक रूपमै लागू गर्ने दाबी गरेका थिए। यसका लागि आवश्यक कार्य तीव्र गतिमा भइरहेको र लगानीकर्ताले छिट्टै प्रयोग गर्न पाउने आश्वासन उनले दिएका थिए।

बजारको आधुनिकीकरणका लागि बोर्डको आन्तरिक पूर्वाधार र संरचनागत क्षमता अभिवृद्धि गर्दै लैजाने प्रतिबद्धता समेत उनले व्यक्त गरेका थिए।

संघका महासचिव रविन कँडेलले भने नियामकले केवल आश्वासन र घोषणामा सीमित नभई कडा नियमन र कारबाहीको बाटो रोज्नुपर्ने बताएका थिए। नयाँ नेतृत्वले सार्वजनिक गरेको श्वेतपत्र सकारात्मक भए पनि यसको कार्यान्वयनका लागि स्पष्ट समयसीमा तोकिनुपर्ने उनको भनाइ थियो।

त्यसक्रममा संघले सर्वसाधारण लगानीकर्ताको बचत सुरक्षा हुन नसके बजारप्रतिको विश्वास समाप्त हुने र यसले समग्र सुशासन एवं सरकारी स्थिरतामै प्रश्न उठाउने चेतावनी दिएको छ। लगानीकर्ताका मुद्दाहरूलाई कामबाटै सम्बोधन नगरिएसम्म बोर्डका गतिविधिमाथि पूर्ण विश्वास गर्न कठिन हुने संघको निष्कर्ष छ।