BIZMANDU
www.bizmandu.com

८२८ मेगावाटको उत्तरगंगा जलविद्युत् निर्माण प्रक्रियामा, आयोजनाले पायो उत्पादन अनुमति

२०८३ साउन २६

८२८ मेगावाटको उत्तरगंगा जलविद्युत् निर्माण प्रक्रियामा, आयोजनाले पायो उत्पादन अनुमति
८२८ मेगावाटको उत्तरगंगा जलविद्युत् निर्माण प्रक्रियामा, आयोजनाले पायो उत्पादन अनुमति


बागलुङ। दुई दशकदेखि चर्चामा मात्रै रहेको उत्तरगंगा जलायशयुक्त जलविद्युत् आयोजना निर्माणका लागि थप प्रक्रिया अघि बढेको छ। विद्युत् विकास विभागले आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ।

Tata
GBIME

आयोजना उत्तरगंगा पावर कम्पनीले निर्माण गर्दैछ। विभागले गत साता उत्पादन अनुमति दिएको हो। विभागको उक्त निर्णयसँगै २०६१ सालदेखि चर्चामा रहेको मुलुककै सस्तो जलाशययुक्त जलविद्युत् परियोजना अघि बढ्ने आस बढेको छ।

सरकारले चालु आर्थिक वर्षमा नै उक्त आयोजना निर्माणका लागि बोलपत्रको प्रक्रिया अगाडि बढाउने भएको छ। कुल ८२८ मेगावाट क्षमताको यो आयोजनालाई उत्पादन अनुमतिपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी बद्री कुइँकेलले जानकारी दिए। बागलुङको ढोरपाटन उपत्यकामा उत्तरगंगाको पानी जम्मा गरी निसीखोलामा झारेर विद्युत् उत्पादन गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ।

विभागले आयोजनास्थल रहेको ढोरपाटन र निसीखोलालाई पत्राचार गरिसकेको छ। अनुमतिसँगै उत्तरगंगा नदीको पानीलाई निसीखोलामा फर्काएर बिजुली निकाल्ने यसअघिको स्वीकृत परियोजना संरचनाले औपचारिकता पाएको छ। आयोजनाको पानी भेरीतर्फ लैजाने वा निसीखोलातर्फ फर्काउने भन्ने लामो समयदेखि विवाद थियो।

पछिल्लो निर्णयअनुसार अब उत्तरगंगाको पानीलाई निसीखोलामा फर्काएर विद्युत् उत्पादन गरिनेछ। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन २०८० माघ २ मा नै स्वीकृत भइसकेको थियो। उक्त प्रतिवेदनमा पनि उत्तरगंगाको पानी निसीखोलामा फर्काएर बिजुली निकाल्ने निष्कर्ष थियो।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी उत्तरगंगा पावर कम्पनी लिमिटेडले अघि बढाउन लागेको यो आयोजना जलाशययुक्त तथा अन्तरजलाधार स्थानान्तरण परियोजनाका रुपमा हुनेछ। उत्तरगंगा नदीमा बाँध निर्माण गरी जलाशयको पानी ६.५१ किलोमिटर लामो मुख्य सुरुङमार्फत निसीखोलातर्फ फर्काइने छ।

सरकारले ८२८ मेगावाटको उत्तरगंगा जलाशययुक्त आयोजनासहित १ हजार ६१ मेगावाटको माथिल्लो अरुण, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी–५ र ७७ मेगावाटको घुन्साखोला आयोजनाको यसै वर्ष वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। हिउँद र बर्खामा समान विद्युत् उत्पादन गर्न सकिने नेपालकै सस्तो परियोजनाका रुपमा सो आयोजनालाई लिइन्छ। रासस