काठमाडौं । कोलम्बियामा भूकम्प जाँदा १३० जनाभन्दा बढीको मृत्यु भएको छ। पछिल्लो केही वर्षयताकै शक्तिशाली भूकम्पमा ४८० भन्दा बढी घाइते भएको बीबीसीले उल्लेख गरेको छ।
भूकम्पपछि त्यहाँको सरकारले देशमा संकटकालको घोषणा गरेको छ।
कोलम्बियाको भूगर्भ सेवाका अनुसार चोको प्रान्तलाई केन्द्रविन्दु बनाएर ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। १०३ किलोमिटर गहिराइमा गएको भूकम्पको धक्का कोलम्बियाको पश्चिमी क्षेत्रका विभिन्न सहरहरूमा महसुस गरिएको थियो।
भूकम्पका कारण कफी उत्पादनका लागि प्रसिद्ध पेरेइरा सहर सबैभन्दा बढी प्रभावित भएको छ। भत्किएका भवनहरूभित्र धेरै मानिस फसिरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
भूकम्पको केन्द्रविन्दु नजिकै रहेको सान जोसे डेल पाल्मार गाउँमा सडक संजाल टुटेको छ। त्यहाँ मानवीय क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ।
अहिले प्रभावित क्षेत्रहरूमा उद्धार कार्य तीव्र पारिएको स्थानीय अधिकारीहरुले बताएका छन्।