काठमाडौं। सन्दीप लामिछाने नेपाली एकदिवसीय क्रिकेट टोलीको कप्तान बनेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको स्थानमा लामिछानेलाई एकदिवसीय कप्तानको जिम्मेवारी दिएको हो।
यसअघि दीपेन्द्रसिंह ऐरीलाई क्यानले टी-२० टोलीको कप्तान बनाएको थियो। क्रिकेट विश्वकप लिग-२ मा टोलीको लगातारको खराव प्रदर्शनपछि क्यानले कप्तान परिवर्तन गरेको देखिन्छ। कप्तानी भूमिकामा तथ्यांक राम्रो भए पनि पछिल्लो समय रोहितको व्यक्तिगत प्रदर्शन लगातार कमजोर रहँदै आएको थियो। उनको कप्तानीमा नेपालले दुई टी-२० विश्वकपसँगै एसिया कप खेल्यो। उनको कप्तानीमा ओडीआई र टी-२० फर्म्याटमा इङ्ग्ल्याण्ड, वेस्ट इण्डिज, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँग नेपालले खेल्यो।
लामिछाने यसअघि नेपालको कप्तान रहिसकेका छन्। उनी कप्तान छँदै बलात्कारको मुद्धा खेप्दा क्यानले उनलाई पदबाट हटाएको थियो। पछि उनी टोलीमा त फर्किए तर कप्तानको जिम्मेवारी रोहितले नै सम्हालिरहे।
लामिछानेको कप्तानीमा अब नेपालले एसीसी प्रिमियर कप खेल्ने क्यानले जनाएको छ। अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म नेपालले मलेसियामा एसीसी प्रिमियर कप खेल्नेछ।